| सोमवार, असार १४, २०८३

सेवाका लागि राजनीति, जीविकाका लागि व्यवसाय

कहिले हिउँदे, बर्खे अधिवेशन, कहिले गाउँसभा, कहिले कार्यपालिका बैठक, कहिले अनुगमन, भ्रमणमै व्यस्त हुन्छन् प्राय गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुखहरु । स्थानीयको प्रतिनिधि मण्डलसंग भेटघाट, योजना माग, छलफल इत्यादिले उनीहरुलाई फुर्सदै हुदैन ।

तर उत्तरी गोरखाको विकट क्षेत्रमा रहेको धार्चे गाउँपालिकाका प्रमुख लक्ष्मण गुरुङ भने राजनीति र समाजसेवाबाट समय बचाएर आयआर्जनको काम पनि गर्ने गर्दछन् । उनको आम्दानीको स्रोत भनेकै धार्चे ३ खोर्लाबेशीमा रहेको होटल सांग्रिला र त्यहाँ सञ्चालित धार्चे रेन्बो ट्राउट तथा अर्गानिक फर्मबाट उत्पादित माछा हो । दैनिक कम्तीमा १० केजीदेखि २० केजीसम्म ट्राउट माछाको व्यापार हुने उनी बताउँछन् । ‘खोर्लावेशीबाट एक पटकमा तीनदेखि चार मेट्रिकटन माछा उत्पादन हुन्छ’, उनी भन्छन्, ‘अहिले रेसेखोलामा बनेको फर्ममा एक पटकमा १३ मेट्रिकटन उत्पादन हुनेछ ।’ यसको व्यापारले आफ्नो गुजारा चल्ने उनको भनाइ छ ।

‘जनताको सेवासंगै केही न केही व्यवसायमा जोडिएन भने घर परिबारको खर्च धान्न गाह्रो पर्छ’, उनी भन्छन्, ‘मेरो बसाइ नै खोर्लाबेशीमा छ । त्यसैले म दिनभरि पालिकाको काममा भए पनि साँझ बिहान होटल र रेन्बो ट्राउट फर्मको काम गर्छु । रेसेखोला ट्राउट फर्ममा हप्तामा कम्तीमा एकफेर पुग्छु ।’

नले खोर्लावेशीमा रेन्बो ट्राउटफर्म सञ्चालन गरेको २०७७ सालदेखि हो । यहाँ नौ वटा पोखरी छ । रेसेखोलामा १७ वटा पोखरी छन् । छ बर्षअघि खोर्लावेशीमा दुई करोड रुपैयाँ लागतमा ट्राउट फर्म सुरु गरेको उनी बताउँछन् । ‘त्यहाँ होटलकै जग्गामा ट्राउट फर्म सञ्चालन गरेका छौँ । त्यसैले जग्गाबाहेक दुई करोड लगानी भएको छ’, उनी भन्छन् ।

खोर्लावेशीको फर्मबाट उत्पादित ट्राउट माछा स्थानीय बजारमै विक्री भइसक्ने गरेको छ । ‘यो फर्मबाट उत्पादन भएको माछा त स्थानीय बजारमै बिक्छ’, गाउँपालिका अध्यक्ष गुरुङ भन्छन्, ‘अब रेसेखोलाबाट उत्पादन भएकोचाहिँ ५० प्रतिशत स्थानीय बजारमै बिक्री हुन्छ । ५० प्रतिशत माछा काठमाडौं पु¥याउँछौँ ।’ माछाफर्ममा धेरै जना स्थानीय युवाहरुले रोजगारी पनि पाएका छन् । राजनीति र समाजसेवासंगै व्यवसाय र उत्पादनलाई जोड्न सक्यो भने राजनीति र समाजसेवा स्वच्छ, भ्रष्टाचारमुक्त हुने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्