
जहाँ विकासको नाउँमा स्ट्रेचर पनि छैन
धार्चे गाउँपालिका ७ ठाँटीका ६१ बर्षका चित्रमान गुरुङ गत बुधबार राती सौचालय जाने क्रममा आँगनमा लडे । निधारमा गम्भीर चोट लागेका उनलाई तत्काल उपचार गर्न स्वास्थ्य संस्था लैजानु जरुरी भयो ।
रातारात युवाहरु जमघट भए । डोको काटेर बिरामी बोक्ने साधन बनाए । त्यसपछि आलोपालो गर्दै भीरपहराको बाटो बोकेर उपचारका लागि आर्खेततिर लगे । असारे झरी अनि निस्पष्ट अँध्यारो, धेरै ठूलो भीरको बाटो झण्डै चार पाँच घण्टा सिकिस्त घाइतेलाई डोकोमा बोकेर आर्खेत पु¥याउनु चानेचुने कुरा थिएन । तैपनि युवाहरुले हार नमानी बोकेर आर्खेत पु¥याए । त्यहाँ पनि उपचार नहुने भएपछि सवारी साधनमा राखेर प्रदेश अस्पताल गोरखा पु¥याए । देर्बे आँखामाथि ६ वा टाँका मारेपछि उनलाई बिहिबार घरतर्फ फर्काइएको छ ।
‘गाउँमा सामान्य बिरामी भए पनि उपचार पाइँदैन । हामो वडाको स्वास्थ्यचौकी लापुमा छ । त्यहाँ पुग्न सातदेखि आठघण्टा हिड्नुपर्छ’, स्थानीय कृष्ण गुरुङ भन्छन्, ‘आफ्नै वडाको भीरकुनामा पनि गाउँघर क्लिनिक त छ । त्यहाँ पुग्न पनि पाँचघण्टा हिँड्नुपर्छ । आरुघाट गाउँपालिकाको स्वाँरा गाउँको गाउँघर क्लिनिक पुग्न तीनघण्टा हिँड्नुपर्छ ।’ स्वास्थ्य संस्था पनि नहुने, घाइते तथा बिरामीलाई तत्काल उद्धार गरी अस्पताल लैजान मोटरबाटो पनि नहुँदा ठाँटी गाउँबासीले धेरै दुख खेप्नु परेको उनको भनाइ छ ।
गाउँमै उपचार त परको कुरा, सामान्य स्वास्थ्य समस्या पत्ता लगाउन पनि नसकिने स्थानीयको गुनासो छ । ‘गाउँमा जोरो नाप्ने थर्मोमिटर पनि छैन’, स्थानीय विनिता गुरुङ भन्छिन्, ‘कसैलाई जोरो आयो भने घरघरमा सिटामोल भए देऊ न भन्दै चाहार्नु पर्छ । ओखतीको म्याद छ कि छैन, मतलब छैन । ट्याबलेट पाए खुशी भएर खानुपर्छ ।’ स्वास्थ्य संस्थाको अभावमा गाउँले झाँक्रीको भर पर्न बाध्य भएको उनको भनाइ छ ।
ठाँटी गाउँमा १८ घरधुरी बसोबास गर्छन् । गाउँमा पढेलेखेका, बोल्न सक्ने टाठाबाठा युवाहरु नहुँदा विकासका पूर्वाधार निर्माण हुन नसकेको उनको भनाइ छ । ‘पढेलेखेका मान्छे छैनन् । विकास कोसंग माग्ने हो पनि थाहा छैन’, उनी भन्छन्, ‘त्यही भएर अहिले हाम्रो गाउँमा न स्कूल छ, न स्वास्थ्यचौकी, न सडक छ, न मोबाइल नेटवर्क टिप्छ ।’ गाउँका मान्छेले मोबाइलमा नेट चलाउन पनि नपाएको उनले गुनासो गरे ।
थोरै घरधुरी र जनसंख्या कम भएकाले सेवा सुविधाबाट बञ्चित हुनुपरेको अर्का स्थानीय सूर्यमान गुरुङको गुनासो छ । ‘यहाँ थोरै घरधुरी छ । थोरै घरधुरी भयो भन्दैमा भएकाहरुलाई विकासको सेवा सुविधाबाट बञ्चित गर्नु अन्याय हुन्छ’, उनी भन्छन्, ‘हाम्रो कुरा त वडाले पनि सुन्दैन, पालिकाले पनि सुन्दैन । प्रदेश र केन्द्र सरकार गुहार्न त कहाँ जाने हो थाहा छैन ।’




