| शनिबार, असार १२, २०८३

सहुलियतको चामल बिक्री गर्दै खाद्य

बजारमा दिनप्रति दिन चामलको भाउ बढ्दै गएका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाले भने सहुलियतमा चामल बिक्री गर्दै आएको छ । कार्यालयको गोरखा शाखा तथा सिर्दिबास डिपोबाट सहुलियतको चामल बिक्री भैरहेको कार्यालय प्रमुख रन्जना केसीले बताइन् ।

‘बजारमा चामलको मूल्य बढ्दै गएपनि खाद्य कम्पनीले भने सहुलियतमा चामल बिक्री वितरण गर्दै आएको छ’, उनले भनिन्, ‘तर, अधिकांश नागरिकहरुलाई खाद्यको सहुलियत चामलको विषयमा जानकारी नै छैन ।’ खाद्यको सदरमुकामस्थित कार्यालयबाट अरुवा सोना मन्सुली चामल प्रतिकेजी ५५ रुपैँयामा बिक्री भैरहेको छ । यस्तै, स्टिम जिरा मसिनो चामल प्रतिकेजी रु ७९ का दरले बिक्री भैरहेको केसीले जानकारी दिइन् ।

‘अरुवा सोना मन्सुली चामल २५ केजी बोराको रु १३७५ र स्टिम जिरा मसिनो चामल २५ केजी बोराको रु १९७५ मा बिक्री गरिरहेका छौँ’, उनले भनिन् । खाद्य कम्पनीको गोरखा सदरमुकाम पाटेचौरस्थित कार्यालयमा हाल २६० क्वीन्टल मौज्दात चामल रहेको छ । केही दिनभित्र थप २१० क्वीन्टल चामल ढुवानी हुने कार्यालय प्रमुख रन्जना केसीले बताएकी छिन् ।

कार्यालयको सिर्दिबास डिपोबाट अरुवा सोना मन्सुली चामल प्रतिकेजी ५५ रुपैँयामै बिक्री भैरहेको छ भने स्टिम जिरा मसिनो चामल प्रतिकेजी रु ८१ का दरले बिक्री भैरहेको छ । यसरी खाद्यको सिर्दिबास डिपोबाट अरुवा सोना मन्सुली चामल २५ केजी बोराको रु १३७५ र स्टिम जिरा मसिनो चामल २५ केजी बोराको रु २०२५ मा बिक्री भैरहेको कार्यालयको भनाइ छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ का लागि खाद्यको सिर्दिबास डिपो, नाम्रुङ बिक्री केन्द्र तथा चुम्लिङ बिक्री केन्द्रका लागि एक/एक हजार क्वीन्टल चामलको कोटा निर्धारण भएको थियो । उक्त कोटा अनुसारको ढुवानी लगभग पूरा भैसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाकी प्रमुख केसीले बताएकी छिन् । चुमनुब्रीमा बर्खाअघि कोटा अनुसारको चामल ढुवानी सम्पन्न हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्