
पालुङटारले ल्यायो ७९ करोड ७९ लाखको अनुमानित बजेट
जिल्लाको पालुङटार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागी ७९ करोड ७९ लाख ७९ हजार रुपैँयाको अनुमानित बजेट घोषणा गरेको छ । मंगलबार पालिकाले अनुमानित ७९ करोड ७९ लाख ७९ हजार रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
पालिकाले आफ्नो आन्तरिक आयबाट चार करोड रुपैँया प्राप्त गर्ने अनुमान गरेको छ । यस्तै, पालिकाले सुरु गरेको घर जग्गा रजिस्ट्रेसनबापत ६० लाख रुपैँया प्राप्त हुने पालिकाले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा उल्लेख छ । पालुङटारले संघीय सरकारको वित्तीय समानिकरण अनुदानबाट १६ करोड ९७ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ । राजस्व बाँडफाँटबाट ११ करोड १६ लाख ३४ हजार र सशर्त अनुदानतर्फ ३७ करोड ७ लाख आम्दानी गर्ने पालिकाको लक्ष्य छ ।
यसैगरी, प्रदेश सरकारको वित्तीय समानिकरणतर्फ दुई करोड ४२ लाख ४५ हजार, राजस्व बाँडफाँटतर्फबाट एककरोड २० लाख, समपुरक अनुदानतर्फबाट ६५ लाख र विशेष अनुदानतर्फबाट ४० लाख रुपैयाँ प्राप्त गर्ने पालिकाको अनुमानित बजेटमा उल्लेख छ । यस्तै, सडक बोर्ड नेपालबाट ३२ लाख रुपैँया प्राप्त हुने पालिकाको भनाई छ ।
सो रकममध्य पालिकाले आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत क्षमता विकास, न्यायिक समिति र सह–लगानीमा संचालन गरिने योजना शीर्षक बनाएर खर्च गर्ने अनुमान गरेको छ । आर्थिक विकासअन्तरगत कृषि विकास क्षेत्रतर्फ पालिकाले ८४ लाख ७० हजार रुपैँया बिनियोजन गरेको छ । उद्योग, व्यवसाय तथा रोजगारतर्फ स्थानीयस्तरमा रोजगार प्रवद्र्धन गर्न ३० लाख बजेट बिनियोजन गरेको छ ।
यस्तै, पालिकाले पर्यटन विकासतर्फ १५ लाख रकम बिनियोजन गरेको छ । आधारभुत तथा माध्यमिक शिक्षातर्फको कार्यक्रम संचालनका लागि ३१ करोड ५९ लाख बिनियोजन भएको छ । यस्तै, बालमैत्री स्थानीय शासनयुक्त नगरपालि घोषणा सम्बन्धी कार्यक्रम संचालनका लागि ४० लाख, पालिकाभर औषधीजन्य सामाग्री व्यवस्थापनका लागि ४४ लाख तथा आधारभुत स्वास्थ्यतर्फका कार्यक्रमहरु संचालनका लागि ८ करोड ९७ लाख रुपैँया बजेट बिनियोजन भएको छ ।
नगरपालिकाले खानेपानी तथा सरसफाईका लागि एकमुष्ठ ४५ लाख रुपैँया बिनियोजन गरेको छ । यस्तै, सामाजिक समावेशीकरणतर्फ ४१ लाख, खेलकुद कार्यक्रम संचालनका लागि ५० लाख तथा नगर प्रहरी व्यवस्थापन तथा परिचालनका लागि ६० लाख रुपैँया बिनियोजन गरेको गाउँपालिकाको जनाएको छ ।
पालुङटारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा ‘दिगो विकासको आधार, साँझेदारीका पूर्वाधार’ भन्ने मुल नाराका साथ सामुदायिक भवनमा ५० प्रतिशत, सडक कालोपत्रेमा न्युनतम ४० प्रतिशत र सिंचाईमा न्युनतम ३० प्रतिशत सहलगानी गर्ने समुदायलाई आयोजनाहरु संचालन गर्न आवश्यक रकम बिनियोजन गर्ने नीति लिएको छ ।




