
गाउँ बस्तीमा देखियो हिमचितुवा
उत्तरी गोरखाको गाउँ बस्तीमा हिमचितुवा देखिएको छ । चुमनुब्री गाउँपालिका २ ल्हो तथा वडा नं ४ नाम्रुङमा औसत उचाइभन्दा तल्लो क्षेत्रमा हिमचितुवा भौँतारिरहेको देखिएको हो । समुद्री सतहदेखि २५०० मिटरदेखि २८०० मिटर उचाइका गाउँ नजिकैको जंगल तथा स्याउ बँगैचामा हिमचितुवा भौतारिरहेको स्थानीय किसानहरुले भेट्ने गरेका हुन् ।
‘केही दिनदेखि हिमचितुवा हाम्रो स्याउ फर्ममा आउने गरेको छ’, चुमनुब्री २ ल्होको विशाल मनास्लु कृषि फर्म तथा अध्ययन केन्द्रका सञ्चालक छिरिङ धार्के लामा भन्छन्, ‘हाम्रो फर्म करिब २८०० मिटर उचाइमा छ ।’ २५०० मिटर उचाइमा अवस्थित नाम्रुङको जंगल र बारीतिर पनि हिमचितुवा चाहार्ने गरेको उनले जानकारी दिए ।
बर्खा याममा हिमाली भेगमा पाइने जीवजनावर गर्मी छल्न उचाइतिर जाने बेलामा हिमचितुवा तल्लो भेगमा झर्नु आश्चर्यको कुरा भएको हिम चितुवाका अध्ययता डाक्टर मधु क्षेत्री बताउछिन् । ‘खासमा २५०० मिटरभन्दा माथि हिमचितुवा पाइनुलाई धेरै आश्चर्य मान्नुपर्ने कुरा होइन तर गर्मी सिजनमा पनि यत्तिको तल्लो भेगमा पाइनुचाहिँ आश्चर्य नै हो’, राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत क्षेत्रीले भनिन्, ‘यो कि आमालाई भर्खर छाडेर जताततै भौँतारिदै हिँडेको हुनसक्छ, कि उचाइमा आहारा पाउन छाडेर तल्लो भेगतिर झरेको हुनसक्छ । कुनै आहाराको सिकार गर्ने क्रममा पछ्याउँदै झरेको पनि हुनसक्छ । नत्र बर्खाका बेला तल्लो भेगमा चाहिँ देखा नपर्नु पर्ने हो ।’
नेपाल सरकारले सन् २०२५ मा प्रकाशित गरेको तथ्यांक अनुसार नेपालभर ३९७ वटा हिम चितुवा रहेको पाइएको छ । मनास्लु संरक्षण क्षेत्र र अन्नपूर्ण संरक्षण क्षेत्रभित्र ३४ वटा हिमचितुवा रहेको सो प्रतिवेदनमा उल्लेख छ । सन् २०२१–२०२२ मा विक्रम श्रेष्ठको टोलीले मनास्लु क्षेत्रमा गरेको अध्ययनमा मनास्लु क्षेत्रमा मात्र १५ वटा हिमचितुवा फेला परेको थियो । तर यसलाई सरकारले आधिकारिक पुष्टि गरेको छैन ।
‘हामीले चुम र चुब्रीको ६०० हेक्टर क्षेत्रफलमा ६० वटा क्यामेरा राखेर गरेको गणनामा १३ वटा वयस्क र २ वटा बच्चा गरेर १५ वटा हिमचितुवा भेटियो’, श्रेष्ठले भने, ‘‘हिमचितुवाको बासस्थान र आहार प्रजातिलाई जोगाउनुपर्ने देखियो । नत्र यो प्रजातिको चितुवा लोप भएर जान्छ ।’ हिमाली क्षेत्रको जैविक विविधतालाई सन्तुलित राख्न हिमचितुवाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ । मान्छेलाई हैरान पर्ने जंगली कुकुर, फ्याउरोहरुलाई यसले शिकार बनाउने हुँदा मानव जनजीवनलाई सहयोगीको भूमिका निर्वाह गर्ने मानिन्छ ।
हिमचितुवा नेपालको अपिनप्पा, हुम्ला, से–फोक्सुण्डो, अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज र कञ्चनजंघा क्षेत्रमा पाइने अध्ययनले देखाएको छ । यो सबैभन्दा धेरै से–फोक्सुण्डो र अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइन्छ ।




