| सोमवार, असार ७, २०८३

धार्चेको माछाखोलामा मात्रै ५ ठाउँबाट विजुली

जिल्लाको धार्चे गाउँपालिकास्थित माछाखोलामा पाँच ठाउँबाट विजुली उत्पादन गर्ने काम भैरहेको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका भर ७८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको प्रक्रियामा रहेको पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

धार्चे ५ रेसेखोलामा वाटर इनर्जी प्रालिले १६ मेगावाट क्षमताको माछाखोला जलविद्युत आयोजनाको काम गरिरहेको छ । ३ अर्ब रुपैयाँ लागत लाग्ने सो आयोजनाको निर्माण कार्य सुरु भएको छ । सो आयोजनाको अहिलेसम्म करिब ७० मिटर लामो सुरुङ खन्ने काम भइरहेको छ । अबको ३० महिनाभित्र आयोजना निर्माण सम्पन्न गरिसक्ने आयोजनाका संस्थापक पुष्पराज आचार्यले जानकारी दिए ।

सोही खोलामा विकास हाइड्रोले ४.५ मेगावाट क्षमताको माछाखोला जलविद्युत आयोजना सञ्चालन गरेको छ । १ अर्ब ११ करोड रुपैयाँ लागतमा विगत दुईबर्षअघिदेखि उत्पादन सुरु गरेको हो । त्यस्तै बूढीगण्डकी जलविद्युत कम्पनीले धार्चे ५ माछाखोलामा ४.६ मेगावाट क्षमताको सुपर माछाखोला जलविद्युत आयोजना सञ्चालन गर्न लागेको छ । यसअघि ४.५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिसकेका सो कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरे र नेपाल विद्युत् प्राधिकरणका अनुगमन तथा सुपरिवेक्षण निर्देशनालय पिपिए भएको कम्पनीले जनाएको छ ।

त्यस्तै माछाखोलामा नै ९ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत आयोजना र ४ मेगावाटको तल्लो माछाखोला जलविद्युत आयोजना निर्माणका लागि अनुमति पाइसकेका गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । गाउँपालिकाको विभिन्न १४ ठाउँमा झण्डै आठसय मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको प्रक्रियामा रहेको पालिका अध्यक्ष गुरुङले जानकारी दिए । जसमध्ये माछाखोलामा मात्रै पाँच ठाउँमा जलविद्युत आयोजनाको काम संचालनमा रहेको हो ।

अध्यक्ष गुरुङका अनुसार कतिपय आयोजना निर्माण सम्पन्न भइसकेका छन् भने कतिपयको काम सुरु भएको छ । कतिपयको इआईए, पिपिए लगायतका तयारी पूरा भएका छन् । सबैभन्दा ठूलो ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माणको काम भइरहेको छ । टाइम इनर्जी हाइड्रोपावर कम्पनीले चुमनुब्री ३ को सल्लेरीबाट बाँध बाँधेर धार्चे ३ को तातोपानीमा पावर हाउस निर्माण गरी विद्युत उत्पादन गर्नेछ ।

आयोजनाको निर्माणस्थल सल्लेरीका बासिन्दाहरु मुआव्जा पाएर अहिले धमाधम स्थानान्तरण हुँदैछन् । आयोजनाको अन्य काम पनि भइरहेको छ । त्यस्तै १०३.४ मेगावाट क्षमताको बूढीगण्डकी क जलविद्युत आयोजनाको पनि काम सुरु भएको छ । नौलो नेपाल हाइड्रो इलेक्ट्रिक प्रालिले बूढीगण्डकी ‘क’ आयोजनाको निर्माण आरम्भ गरेको हो ।

धार्चे–३ को लुस्याङमा बाँध बाँधेर चार किलोमिटर लामो सुरुङबाट पानी ल्याई माछाखोलामा विद्युत् गृह निर्माण गर्ने योजना कम्पनीको छ । सो आयोजनाबाट उत्पादित विद्युत् १२ दशमलव ७ किलोमिटर लामो ट्रान्समिसन लाइन हुँदै बूढीगण्डकी ‘ख’ मा जोडिने इञ्जिनियर दुर्गेश मगरले बताए ।

धार्चेमै अर्को २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ पनि निर्माणको चरणमा छ । नौलो नेपाल हाइड्रो इलेक्ट्रिक प्रालिले सञ्चालन गर्ने सो आयोजनाको बाँध धार्चे–७ खानीबेंसीमा बाँधिनेछ । त्यहाँबाट ९.५ किलोमिटर लामो सुरुङ हुँदै सोतीमा विद्युत् गृहमा विद्युत् उत्पादन गरिनेछ । रन अफ द रिभर प्रविधिको सो आयोजनामा १९७.९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत उत्पादन गरिने इञ्जिनियर मगरले बताए ।

यारु हाइड्रो पावर प्रालिले ३०.५९ मेगावाटको यारु खोला आंशिक जलाशय जलविद्युत् आयोजनाको काम अघि बढाउनका लागि विद्युत विकास विभागबाट अनुमति पाएको छ । २०८४ सालभित्र सम्पन्न हुनेगरी कम्पनीले धार्चे गाउँपालिका १ मा आयोजना सञ्चालन गर्न लागेको हो । सो आयोजनाका लागि अहिले कम्पनीले सडकबाट आयोजनास्थलसम्म पुग्न बूढीगण्डकीमाथि बेलिब्रिज बनाउने काम गरिरहेको छ ।

२८.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत आयोजना निर्माणका लागि पनि तयारी भइरहेको छ । दोभानखोला हाइड्रोपावर प्रालिले पाँच अर्व रुपैयाँ लागतमा सो आयोजना बनाउन लागेको संस्थापक वीरबहादुर घलेले जानकारी दिए । सो आयोजनाका लागि पनि अहिले बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण गरिरहेको छ ।

त्यस्तै १३ मेगावाट क्षमताको माथिल्लो यारुखोला जलविद्युत आयोजनाका लागि लाइसेन्स प्राप्त भएको छ । सो आयोजना धार्चे १ मा सञ्चालनका लागि अनुमति लिएको हो । ७ मेगावाटको रुञ्चेतखोला जलविद्युत आयोजनाका लागि पनि देवेश पावर प्रालिले अनुमति प्राप्त गरेको संस्थापक वीरबहादुर घलेले जानकारी दिए ।

१० मेगावाट क्षमताको निम्रुङखोला जलविद्युत आयोजनाको पनि धमाधम स्थलगत अध्ययन भइरहेको छ । सोही खोलामा ५ मेगावाट क्षमताको माथिल्लो निमु्रङखोला जलविद्युत आयोजनाका लागि पनि काम सुरु भएको छ ।

त्यस्तै धार्चे गाउँपालिका ६ काशिगाउँ र आरुघाट गाउँपालिका १ को सीमानामा दुईवटा रिचेत खोला जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेका छन् । ५ मेगावाट र २ मेगावाट क्षमताका दुई आयोजना हाल सञ्चालनमा छन् । रिचेतखोला जलविद्युत कम्पनी प्रालिले बिगत पाँच बर्षअघिदेखि व्यवसायिक उत्पादन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्