
गोरखा नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा
गोरखा नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । गोरखा नगरपालिका भित्रका सबै बालबालिकाहरुलाई पूर्णखोप लगाएसँगै आइतबार एक कार्यक्रम गरी नगरपालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा गरिएको हो ।
यसअघि गोरखा नगरपालिकालाई २०७४ मा पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको थियो । सोही कार्यक्रमअन्तरगत हरेक वर्ष पूर्णखोप सुनिश्चिता घोषणा गर्दै आएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए । नगरपालिकाले पालिकाभित्रका सबैको घरघरमा गएर घरधुरी सर्वेक्षण गरेको थियो ।
सर्वेक्षणका क्रममा नियमित खोप लगाउनबाट छुटेकाहरु चारजना बालबालिकाहरुलाई पूर्ण खोप लगाएसँगै पालिकालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा गरेको अर्यालले जानकारी दिए । नगरपालिकाभित्र स्वास्थ्य शाखाले १४ वटा वडा रहेको गोरखा नगरपालिकामा हरेक वडामा दुईदेखि तीन वटा खोप केन्द्र स्थापना गरी नियमित रुपमा खोप शिविर सञ्चालन गर्दै आएको छ ।
नगरपालिकाभित्र १५ महिना पुगेका बालबालिकाको संख्या ६ सय ६७ जना रहेको छ भने १६ देखि २३ महिना पुगेका बालबालिकाको संख्या चारसय ९० जना रहेका छन् । उनीहरु सबै जनाले पूर्णरुपमा खोप लगाइसकेको नगरपालिका जनस्वास्थ्य निरिक्षक अर्यालले जानकारी दिए । त्यस्तै, हरेक मंगलबार गोरखा अस्पतालभित्र रहेका संस्थागत क्लिनिकबाट पनि खोप सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए ।
वडा, नगरपालिका र जिल्ला खोप समन्वय समितिले अनुगमन गरेपछि पूर्णखोप सुनिश्चिता घोषणा गरिएको उनले बताएका छन् । राष्ट्रिय खोप तालिका अनुसार खोप लगाउन छुटेमा निमोनिया, दादुरा, झाडापखाला, अपाङ्ग जस्ता रोगहरु लाग्ने भएकाले नियमित रुपमा लगाउनुपर्ने खोप छुटाउन नहुने स्वास्थ्यर्कीहरु बताउँछन् ।
गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।




