| आइतवार, असार ६, २०८३

तीनफेर म्याद थप्दा पनि काम नगरेपछि ठेक्का रद्ध

लगालग तीनफेर म्याद थप्दा पनि गाउँपालिकाको प्रशासकीय भवन निर्माण नगरेपछि धार्चे गाउँपालिकाले ठेक्का रद्ध गरेको छ । गाउँपालिकाले बिहिबार सम्पन्न कार्यपालिका बैठकले काम नगर्ने बिकोई हेमन्त जेभी कम्पनीसंग ठेक्का रद्ध गर्ने निर्णय गरेको हो । पालिकाले सार्वजनिक सूचना जारी गरी सो ठेक्का रद्ध भएको जानकारी गराएको छ ।

सो बिकोई हेमन्त जेभीले पाँच करोड रुपैयाँमा दुईबर्षभित्र निर्माण सम्पन्न सम्पन्न गर्ने गरी २०७८ साल वैशाख ५ गते ठेक्का सम्झौता गरेको थियो । तर पाँच बर्ष बितिसक्दा पनि कार्य प्रगति नभएपछि प्रक्रिया पूरा गरी ठेक्का तोड्न बाध्य भएको गाउँपालिका प्रमुख लक्ष्मण गुरुङले जानकारी दिए ।

‘तीन–तीन महिनामा ताकेता पत्र पठाइरहेका थियौं । फोन गर्दा फोन रिसिभ गर्दैन । सम्पर्कमा आउँदा पनि आउँदैन । तीन पटक म्याद थप भइसक्यो । कामचाहिँ २०८० सालदेखि ठप्पै छ’, उनी भन्छन्, ‘कागजपत्र मिलाउन सिपालु ठेकेदार रहेछ । म्याद थप गर्दै बस्दै गरेको थियो । हामीले यसपटक विधिवत रुपमा ठेक्का तोड्यौँ ।’ कोरोना, भौगोलिक जटिलता, यातायातको असुविधाजस्ता सँधै एउटै ब्यहोराको जवाफ पठाइरहन्छ ।

‘२०७९ माघ २९ गतेसम्म कार्य सम्पन्न गर्नुपर्नेमा हुन नसकेपछि उक्त ठेक्का सम्झौताको म्याद मिति २०८० फागुन २९ गतेसम्म मान्य हुने गरी पहिलो पटक, मिति २०८१ फागुन २९ गतेसम्म मान्य हुने गरी दोस्रो पटक र मिति २०८२ फागुन २० गतेसम्म मान्य हुने गरी तेस्रो पटक म्याद थप गरिएको थियो’, गाउँपालिकाका अध्यक्ष गुरुङले भने, ‘जति म्याद थप गरे पनि भवन निर्माणको काममा कुनै प्रगति नदेखेपछि विधिवत स्पष्टिकरण माग गरियो । कम्पनीले भरपर्दो योजना र कार्यसम्पन्न गर्ने प्रतिबद्धतासहितको स्पष्टिकरण नदिएकाले गत बिहिबारको कार्यपालिका बैठकले ठेक्का रद्ध गरिएको हो ।’

आफ्नै स्वामित्वको प्रशासकीय भवन नहुँदा धार्चे पालिका भाडाको घरमा सञ्चालित छ । बार्षिक चारलाख रुपैयाँ भाडा तिरेर माछाखोलाका स्थानीयको घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहनु परेको पालिकाको गुनासो छ । आफ्नै प्रशासकीय भवन नहुँदा पालिकाको कार्यसम्पादनमा असर पर्छ । साथै अभिलेख व्यवस्थापनमा समेत समस्या भएको पालिका प्रमुख गुरुङले जानकारी दिए । पुरानो ठेक्का तोडेपछि अब नयाँ ठेक्का प्रक्रियामा जाने पालिका प्रमुख गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्