
चुमनुब्री पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
गोरखाको चुमनुब्री गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । बुधबार एक कार्यक्रम आयोजना गरेर पालिकालाई पूर्ण खोप पालिका घोषणा गरेको पालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले बताए ।
१६ देखि २३ महिनाभित्रका बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोप लाए नलाएको र १५ महिनामुनिका बालबालिकाले नियमित खोप लाए नलाएको सर्वेक्षण गरी पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको उनले जानकारी दिए ।
‘बालबालिकाहरुले लगाउनुपर्ने खोप लाए नलाएको र नियमित भए नभएको भनी घरधुरी सर्वेक्षण गर्दा सबैले खोप लाएको पाइयो अनि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो’, उनले भने । पालिकामा रहेका सात वटा वडालाई पूर्ण खोप वडा घोषणा गरिएसँगै पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको गुरुङको भनाई छ ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङ, पालिकाको प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछाने लगायतको उपस्थितिमा पालिकालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा गरेको थियो । प्रदेश जनस्वास्थ्य कार्यालयले हरेक वर्ष १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाहरुले १५ महिनाभित्र लगाउनु पर्ने सबै खोपहरु लगाए/नलगाएको खोजी गर्ने गर्दछ । सो उमेर समुहका बालबालिकाहरुले १५ महिना अवधिमा लगाउनु पर्ने खोप छुटेको भए कार्यालयले पुनः उनीहरुलाई खोप लगाउने गरेको छ ।
पालिकाहरुले त्यस्ता बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई खोप लगाइदिने स्वास्थ्य कार्यालयको भनाई छ । सबै पालिकाहरुले खोप लगाउन छुटेका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई खोप लगाएसँगै त्यसको विवरण जिल्लामा पठाउने गर्दछ । जिल्ला स्वास्थ्य कार्यलयले उक्त विवरण प्रदेशमा र प्रदेशले केन्द्रमा विवरण बुझाएसँगै केन्द्रले जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता जिल्ला’ घोषणा गर्ने गरेको छ ।




