| बुधबार, असार २, २०८३

एनपीआई गोरखा अस्पताल र रोटरी क्लबबीच सहकार्य गर्ने समझदारी

एनपीआई गोरखा अस्पताल र रोटरी क्लब अफ गोरखाबीच आगामि दिनमा जिल्लामा संयुक्त रुपमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गर्ने सहमति भएको छ । सामाजिक कार्य गर्दै आएको रोटरी क्लव र अस्पतालको सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रम परस्पर मिलेर गर्ने सहमति भएको हो ।

मंगलबार एक कार्यक्रम आयोजना गरी अस्पतालका मेडिकल डिरेक्टर संगमबाबु श्रेष्ठ र क्लबका अध्यक्ष रामस्वरुप श्रेष्ठ बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्वास्थ्य सचेतना कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा सामाजिक उत्तरदायित्वसम्बन्धी विभिन्न कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्ने समझदारी पत्रमा उल्लेख रहेको एमडी श्रेष्ठले जानकारी दिए ।

अस्पताल प्रशासनका अनुसार आगामी दिनहरूमा क्लबसँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, स्वास्थ्य शिक्षा तथा रोगको प्रारम्भिक पहिचानसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने बताएको छ । सम्झौताले अस्पताल र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने तथा गोरखावासीलाई स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने मेडिकल डिरेक्टर श्रेष्ठले विश्वास व्यक्त गरे ।

रोटरी क्लब अफ गोरखाले लामो समयदेखि स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा कार्य गर्दै आएको छ । यस सहकार्यमार्फत क्लबका सदस्यहरू तथा उनीहरूका परिवारलाई विशेष स्वास्थ्य सुविधा, स्वास्थ्य परीक्षणमा सहुलियत उपलब्ध गराइने श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्