| मङ्लबार, असार १, २०८३

पालुङटार नगरस्तरीय आधारभूत अस्पताल उद्घाटन

पालुङटार नगरपालिकाको नगरस्तरीय आधारभूत अस्पताल वडा नं. ६ भोटेकाटेस्थित गाईखुर स्वास्थ्य चौकीमा उद्घाटन गरिएको छ । सोमबार आयोजित एक समारोहका बीच नगरप्रमुख विवश चिन्तनले अस्पतालको उद्घाटन गरेका हुन् ।

अस्पताल उद्घाटन गर्दै नगरप्रमुख विवश चिन्तनले नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा सहज, सुलभ तथा गुणस्तरीय रूपमा उपलब्ध गराउने उद्देश्यलाई थप सशक्त बनाएको बताएका थिए । स्थानीय तहको प्रमुख दायित्व नागरिकलाई आधारभूत सेवा प्रदान गर्नु रहेको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए । उनले अस्पताल सञ्चालनसँगै नगरबासीले निःशुल्क तथा सहज स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमकी विशेष अतिथि नगर उपप्रमुख बन्दना पाण्डेले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै अस्पतालको प्रभावकारी सञ्चालनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताइन् । कार्यक्रमका वडाअध्यक्ष चेत बहादुर गुरुङले वडा तथा नगरपालिकाको समन्वयमा स्वास्थ्य सेवा विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा अस्पताल उद्घाटनलाई लिँदै यसले स्थानीय नागरिकको स्वास्थ्य पहुँचमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

उद्घाटनसँगै नगर स्तरीय आधारभूत अस्पतालमार्फत स्थानीय नागरिकलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य औपचारिक रूपमा प्रारम्भ भएको छ । यसबाट विशेष गरी ग्रामीण क्षेत्रका नागरिकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्