
बस्ती चकमन्न, छेकम्पारबासी लेकमा खचाखच
यतिबेला जिल्लाको उत्तरी भेगका लेक खर्कहरु यार्सागुम्बा संकलन गर्नेहरुले खचाखच भरिएका छन् । यार्सागुम्बा संकलन गर्ने सिजन सुरु भएसँगै उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ७ छेकम्पारको लेक खर्क खचाखच भएको हो । गाउँलेहरु यार्सा संकलन गर्न लेक लागेपछि गाउँबस्ती भने चकमन्न भएको छेकम्पारका वडाअध्यक्ष टासी दोर्जे लामाले बताए ।
समुद्री सतहदेखि ४,०६५ मिटर उचाइमा रहेको भाज्यो लेक पुग्न छेकम्पारबाट ६ घण्टाभन्दा धेरै पैदल हिँड्नुपर्छ । त्यहाँ अहिले छेकम्पारको ङाक्यू, लेरु, लामागाउँ, लार, फुर्पे र निले गाउँका बासिन्दाहरु अस्थायी शिविर बनाएर बसोबास गर्छन् । यस्तै, समुद्री सतहबाट ४,१६५ मिटर उचाइमा अवस्थित छेक्या लेकमा भने छेकम्पार, झोङ र बुर्जी गाउँका बासिन्दाहरु त्रिपाल टाँगेर अस्थायी बसोबास गरेको वडाअध्यक्ष लामाले जानकारी दिए ।
त्यसैगरी चारहजार मिटरभन्दा अग्लो फुचुन लेकमा छुले गाउँका ४५ घरधुरीको अस्थायी बसोबास रहेको उनी बताउँछन् । वडा नं. ७ का सबै गाउँका ८१२ घरधुरीका बासिन्दाहरु अहिले यिनै लेकमा यार्सागुम्बा संकलन गर्न ब्यस्त छन् । महिला, बालबालिका, बृद्धबृदा तथा युवाहरु सबै बिहान ८ बजे शिविरबाट निस्कने, दिनभर यार्सागुम्बा संकलन गर्ने र साँझ ६ बजे बल्ल शिविर भित्रिने गर्छन् ।
यतिबेला चुमनुब्री ७ का सबैगाउँबस्ती सुनसान छन् । ‘गाउँ त चकमन्नै छ’, वडाअध्यक्ष टासी दोर्जे भन्छन्, ‘धेरैजसाको घरमा ढोकै लागेको छ । कसैको एकदम बुढा बाआमा मात्र घरमा छन् । कसैलेचाहिँ रोङ्वा (तल्लोभेगका)लाई मासिक तलब दिएर घर कुरुवा राखेका छन् ।’ चुमनुब्री ३ फिलिम, पाङसिङतिरका महिलालाई मासिक २० हजार रुपैयाँ तलब दिएर दुई महिनाका लागि घर कुरुवा राख्ने गरेको उनले जानकारी दिए ।
‘कसैले रोङ्वा महिलाहरुलाई मासिक तलब दिएर लेककै क्याम्पमा काखको बालबच्चाका हेरालु बनाएर राखेका हुन्छन्’, उनले भने, ‘उनीहरु किरा टिप्न पाउँदैनन् । बालबच्चाका हेरालु र खाना बनाइदिने काम गर्छन् ।’ गाउँलेहरु बिहान सबेर क्याम्पबाट निस्केर साँझ अबेर क्याम्पमा छिर्छन् ।
‘बिहान खाना खाइवरी आठ बजे किरा टिप्न जाँदा रहेछन् । साँझ ६ बजेपछि मात्र क्याम्पमा आइपुग्ने रहेछन्’, हालसालै भाज्यू, छेक्या र फुचुन लेकको अवलोकन भ्रमण गरेर फर्केका मनास्लु संरक्षण क्षेत्र आयोजनाका कर्मचारी सुवास नेपालले भने, ‘उनीहरु बैसाखको पहिलो हप्तातिर लेक गएका हुन् । अब असार पहिलो हप्तातिर मात्र फर्किने तरखर गर्दैछन् ।’ गाउँलेहरुले दुई महिनासम्म संकलन गरेको यार्सागुम्बाको कमाइले बर्षदिन गुजारा चलाउने उनले बताए ।
नेपालका अनुसार यो वर्ष विगतका वर्षहरुको तुलनामा यार्सागुम्बा संकलनमा कमी आएको छ । यार्सागुम्बा पाइने चुमनुब्री १ का लेकहरु पनि अहिले स्थानीयबासिन्दाले खचाखच छ । यार्सागुम्बा संकलन गर्न गाउँलेहरु तिब्बतको सीमास्तम्भ रहेका लेकहरुमा पुगेका स्थानीय मिङ्मा छिरिङ बताउँछन् । उनी भन्छन्, ‘अबको दुईहप्ता पछि मात्र फर्कन्छन् ।
उनीहरु अहिले पिलर नं. ३४,. ३५ र ३६ को वरिपरि पुगेका छन् ।’ यहाँ संकलन भएको यार्सागुम्बा नाका खुलेपछि तिब्बत लगेर बिक्री गर्ने उनको भनाई छ ।




