
होहल्ला व्यवस्थापनको सहमति र निर्देशन लत्याउँदै गोरखा रोदीघर
राती अबेरम्म होहल्ला भएर स्थानीयबासी हैरान भएपछि गोरखा रोदीघरका सञ्चालक र स्थानीयबासी, बीच होहल्ला न्युनिकरण गर्न धेरैपटक सहमति भएको थियो । राती १२, १ बजेसम्म होहल्ला हुने गरेको भन्दै गोरखा नगरपालिका ७ धारापानी छिपिटोल, नयाँबजार टोलका बासिन्दाले गुनासो गरेपछि वडा कार्यालय तथा नगरपालिका कार्यालयले पनि होहल्ला व्यवस्थापन गर्न सञ्चालकलाई बारम्बार निर्देशन गर्ने गरेको थियो ।
तर होटलका सञ्चालकहरुले धेरै पटक गरेको सहमति लत्याउँदै राती दुई, तीन बजेसम्म होहल्ला गर्ने वातावरण बनाइरहेको स्थानीय वीरेन्द्र श्रेष्ठले जानकारी दिए । ‘रातभरि होहल्ला भएर हामी सुत्न पनि नसकिने, स्कूल, कलेजका विद्यार्थी पढ्न पनि नसक्ने अबस्था भएपछि स्थानीयबासीले रोदीघरका सञ्चालक, टोल विकास संस्था, वडा कार्यालय, नगरपालिका कार्यालयमा समस्या समाधान गरिदिन माग गर्दै निवेदन ग¥यौ’, श्रेष्ठले भने, ‘ध्वनि प्रदुषण कम गर्नका लागि टोल विकास संस्था र रोदी घर सञ्चालकहरुका बीच गत भदौ १६ गते र माघ पाँच गते बैठक बसी ध्वनि प्रदुषण न्यूनिकरण गर्ने, निर्धारित समयसीमाभित्र मात्र रोदीघर सञ्चालन गर्ने निर्णय भएको थियो ।
तर सञ्चालकहरुले कत्तिपनि सहमति कार्यान्वयन नगरेकाले ध्वनि प्रदुषण व्यवस्थापन ऐन बमोजिम सञ्चालन गर्न गत माघ १३ गते ४८ घण्टाको अल्टिमेटम पनि दिएका थियौँ । तैपनि कार्यान्वयन भएको छैन ।’ वडा कार्यालय, नगरपालिका कार्यालयले यस विषयमा निर्देशन गरेको भए पनि सञ्चालकहरुले लत्याउँदै आएका उनको भनाइ छ ।
रातभरि रोदीघर सञ्चालन गर्दा वृद्ध, बालबालिकालगायत सबै स्थानीयबासी प्रताडित भएकाले तत्काल नियमन गराउन भन्दै स्थानीयबासीले प्रहरी प्रशासनमा पनि बारम्बार जानकारी गराउँदै आएको गुनासो गरेका छन् । ‘रातभर रोदीघरमा जाँडरक्सी खाई झैझगडा, होहल्ला, कुटपिटका घटना भएपछि प्रहरीमा त सयौं पटक फोन गरियो होला’, वीरेन्द्र श्रेष्ठ भन्छन्, ‘कतैबाट पनि कारबाही हुन नसकेपछि हामी मौन बस्न थालेका थियौँ । नभन्दै एकदिन यस्तो अप्रिय घटना भयो ।’
रोदीघर ठूलाठूला स्पीकर बजाएर ध्वनि प्रदुषण गरेका कारण स्थानीयबासीले आफ्ना बालबालिका होस्टेलमा राखेर पढाउन बाध्य भएको अर्का स्थानीयबासी काजिराम श्रेष्ठले बताए । ध्वनि प्रदुषण न्युनिकरणका लागि जुन निकायमा गुहार गरे पनि अटेरी गरेपछि स्थानीयबासी समस्या खेप्न बाध्य हुनु परेको उनको गुनासो छ । गोरखा रोदीघर नामको सो रोदीघर सतिपिपलका पवनकुमार बस्नेत, बसपार्कका हरिहर श्रेष्ठ र हरमटारीका सचिन गुरुङले सञ्चालन गरेका हुन् ।
सो रोदीघरमा गत बुधबार भएको झगडापछि गम्भीर घाइते भएका बारपाक सुलिकोट ३ गम्बाङ घर भई गोरखा नगरपालिका ७ पन्थेस्वाँरा बस्दै आएका सन्तबहादुर गुरुङको शुक्रबार मृत्यू भएको छ । सो आरोपमा प्रहरीले उनीमाथि कुटपिट गर्ने गोरखा नगरपालिका ७ रोहटेपानीका बोनस शाक्य, धार्चे २ का मिङ्मार गुरुङ धार्चे १ हुलचुकका सन्तोष गुरुङ र सिरानचोक २ थालाजुङका होमराज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।




