
जंगलमै शिविर राखेर गरिन्छ भीरमौरीको मह सिकार
धार्चे गाउँपालिका ४ लाप्राकका युवाहरु केही दिनदेखि रासनपानी, ओढ्ने–ओछ्याउने बोकेर लेकतिर पुगेका छन् । उनीहरुको नेतृत्व स्थानीय गोठ समिति र वन समितिहरुले गरेका छन् । उनीहरु दिनभरि भीर, पहरामा झुण्डिएर मह काढ्छन् । दामासाहीले मह बाँड्छन् अनि साँझ परेपछि क्याम्पमा गएर बास बस्छन् । भोलिपल्ट फेरि उही कार्यक्रम दोहोरिन्छ ।
उत्तरी गोरखाका विभिन्न भीर पहरामा यतिबेला भीरमौरीको मह सिकार गर्ने सिजन सुरु भएको छ । लाप्राकमात्र होइन, धार्चे गाउँपालिका वडा नं. १ को हुल्चुक, वडा नं. २ को रुञ्चेत, वडा नं. ३ को खोर्ला, उहियाँका दर्जनौँ भीरहरुमा पनि धमाधम भीरमौरीको मह काढ्ने काम भइरहेको स्थानीयबासीको भनाइ छ ।
एक दुई जनाले मात्र मह सिकार गर्न सम्भव छैन । त्यसैले गाउँका हरेक घरधुरीबाट गएका युवाहरु सामुहिक रुपमा मह सिकार गर्ने गर्दछन् । कसैले रातसाँझ चोरी गरेर महसिकार गरेमा कारबाहीको भागिदार बन्नुपर्ने वडाअध्यक्ष बताउँछन् ।
अहिले वडा नं. ३ को निम्रुङखोलाका विभिन्न १३ वटा भीरमा भीरमौरीको मह काढिसकिएको वडाअध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिए । ‘धार्चे गाउँपालिकाको सबैभन्दा धेरै भीरमौरीको मह पाइने हाम्रै वडामा हो’,उनले भने, ‘निम्रुङखोलाको ठाउँठाउँमा मह सिकार गरिन्छ । अहिलेसम्म १३÷१४ ठाउँमा महसिकार गरिसकेका छन् ।’
महसिकार गर्न गाउँबाट धेरै टाढाको भीर पहरामा जानु पर्ने हुँदा धेरै दिन जंगलमै बास बसेर मह शिकार गरेका उनले बताए । ‘गाउँका युवाहरु रासनपानी, लुगा कपडा बोकेर छ, सात दिन जंगलमै बास बसेर मह काढे’, उनले भने, ‘सबैभन्दा धेरै २१÷२२ वटा गोला हुने ठाउँमा यसपटक मह नपाइएकाले त्यहाँचाहिँ काढेका छैनन् ।’ अरु ठाउँमा भने साविककै मह पाइएको उनको भनाइ छ ।
त्यस्तै वडा नं. ४ का १० भन्दा धेरै भीरमा भीरमौरीको सिकार गर्ने गरिन्छ । त्यहाँका ६–७ ठाउँमा महसिकार गरिसकिएको वडाअध्यक्ष किसान गुरुङको भनाइ छ । ‘गोठ समिति, वन समितिको नेतृत्वमा मह सिकार गर्ने गरिन्छ’, गुरुङ भन्छन्, ‘ती समितिले प्रतिघरधुरी पाँचसय रुपैयाँ उठाउँछन् । अनि सामुहिक रुपमा महसिकार गरिन्छ । काढिएको मह त्यहाँ सहभागी सबैले दामासाहीले पाउँछन् ।’ संकलित रकम गोठ, खर्क व्यवस्थापनमा खर्च गरिने उनको भनाइ छ ।
यहाँ उत्पादित मह प्रतिमाना पन्द्रसय रुपैयाँका दरले बिक्री गर्ने उनले बताए । ‘भीर मौरीको मह धेरै ठूलो औषधी हुन्छ । त्यसैले धेरैजसो घरायसी प्रयोग गर्छन् । आफूलाई अड्कलेर राखेर उप्रिएको बिक्री पनि गर्ने गर्छन्’, उनले भने, ‘प्रति लिटर तीनहजार रुपैयाँका दरले बिक्री गर्ने चलन छ ।’ उत्तरी गोरखामा संकलन भएको भीरमौरीको मह देश, विदेशसम्म पुग्ने उनको भनाइ छ । बहुऔषधीय उपयोगी मह भएकाले यसको महत्व गाउँ, सहर र विदेशदेखि माग हुने गरेको उनी बताउँछन् ।




