
मनासलु हिमाल आरोहण गर्ने गोरखालीहरु सम्मानित
चुमनुब्री गाउँपालिकाले मनास्लु हिमालको सफल आरोहण गर्ने गोरखाली आरोहीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरेर मनास्लुको सफल आरोहण गर्ने गोरखाली आरोही तथा विभिन्न सङ्घसंस्थालाई सम्मान गरेको हो ।
गाउँपालिकाले मनास्लु हिमालको सफल आरोहण गर्ने गोरखालीहरु फुन्जो जाङ्मु लामा, दिकी ल्हामु लामा, पूर्णिमा श्रेष्ठ, पूर्णबहादुर गुरुङ, युक्त गुरुङ, हरिबहादुर गुरुङ, रमेश गुरुङ, नवराज गुरुङ, पाल्सङ रिम्पोछे, सेदार रिन्पोछे र लामा जिग्मेलाई सम्मान गरेको हो । यस्तै, पालिकाले नेपाल पर्वतारोहण सङ्घ (एनएमए), राष्ट्रिय प्रकृति संरक्षण कोष, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)लाई पनि सम्मान गरेको पालिका अध्यक्ष निमा लामाले बताए । लामाका अनुसार हालसम्म तीन हजार ७४२ स्वदेशी तथा विदेशी आरोहीले मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।
विश्वको आठौँ र नेपालको सातौँ मनास्लु हिमाल पहिलोपटक सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले आरोहण गरेका थिए । यस्तै, सन् १९७३ अप्रिल २२ तारिखमा पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा यहि मे ९ तारिखमा चुमनुब्रीको सामागाउँ मा भव्यताका साथ ‘मनासलु डे’ मनाइएको थियो ।




