| मङ्लबार, जेष्ठ २५, २०८३

सरकारको स्वास्थ्य बिमा कार्यक्रमले विकटको पालिकालाई छोएन, धार्चेका २० र चुमनुब्रीका १३ प्रतिशत नागरिक मात्र बिमा कार्यक्रममा आवद्ध

प्रतीक्षा आले । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमले विकटका बासिन्दाहरुले समेट्न सकेको छैन् । विकट मानिने गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाका अधिकांश नागरिकहरु सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध नभएका हुन् ।
धार्चेको कूल जनसंख्याको २० प्रतिशत र चुमनुब्री गाउँपालिकाबाट जम्मा १३ प्रतिशत नागरिकहरु मात्र स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध रहेको स्वास्थ्य बिमा बोर्ड, जिल्ला कार्यालय गोरखाको तथ्यांकमा उल्लेख छ । कार्यालयका अनुसार १४ हजार २६३ जनसङख्या रहेको धार्चे गाउँपालिकामा जम्मा दुईहजार ९५६ जना बिमा कार्यक्रममा आवद्ध छन् । तीमध्ये एकहजार ७२१ महिला र बाह्रसय ३४ जना पुरुष रहेका छन् ।
यस्तै, पाँचहजार ९३२ जनसङख्या रहेको चुमनुब्री गाउँपालिकामा जम्मा ८४२ जना स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध रहेको स्वास्थ्य बिमा बोर्ड, जिल्ला कार्यालय गोरखाका प्रमुख रमेशकुमार घिमिरेले बताए । चुमनुब्री गाउँपालिकाको चारसय २५ महिला तथा चारसय १७ जना पुरुषहरु बिमा कार्यक्रममा आवद्ध रहेको घिमिरेले जानकारी दिए ।
चुमनुब्री र धार्चे जस्ता विकटका पालिकाहरुका अधिकांश नागरिकहरु बिमा कार्यक्रममा आवद्ध नरहेको घिमिरे बताउँछन् । उक्त पालिकाहरुमा बिमा दर्ता सहयोगी परिचालन नभएकाले नागरिकहरु बिमा कार्यक्रममा आवद्ध हुन नसकेको उनको तर्क छ ।
सरकारले आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकहरुको सहज पहुँच पु¥याउन स्वास्थ्य बिमा कार्यक्रम संचालनमा ल्याएको हो । जसका लागि प्रत्येक स्थानीय तहका वडाहरुमा स्वास्थ्य बिमा बोर्डले ‘दर्ता सहयोगी’ तोकेको हुन्छ ।
चुमनुब्री र धार्चे गाउँपालिकाको हकमा पर्याप्त दर्ता सहयोगी नरहेको बिमा बोर्डका गोरखा जिल्ला प्रमुख रमेशकुमार घिमिरेले बताएका छन् । घिमिरेका अनुसार धार्चे गाउँपालिकाको वडा नं २ केरौँजा र वडा नं ५ गुम्दामा मात्र दर्ता सहयोगी परिचालित छन् । सातवटा वडा रहेको चुमनुब्री गाउँपालिकाको वडा नं ३ सिर्दिबासमा मात्र दर्ता सहयोगी रहेको उनले जानकारी दिए ।

गोरखामा स्वास्थ्य बिमाको अवस्था :

‘दर्ता सहयोगी छनोट तथा नियुक्त गर्ने जिम्मा हामीले सम्बन्धित स्थानीय तहहरुलाई नै दिएका छौँ’, घिमिरेले भने, ‘धार्चे र चुमनुब्री बाहेक सबै स्थानीय तहको वडा वडामा दर्ता सहयोगीहरु हुनुहुन्छ ।’
चुमनुब्री गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले पनि पालिकामा दर्ता सहयोगी नरहेका कारण पालिकाबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुन नसकेको बताएका छन् । ‘दर्ता सहयोगी छनोट गर्न अनिवार्य १२ पास भएको हुनुपर्छ । हाम्रोमा १२ पास गरेर गाउँमा बस्ने मान्छे छैनन् त्यसैले राख्न नसकेको हो’, उनले भने । पालिकाले पटक पटक आवेदन खुलाउँदा समेत कसैको आवेदन नपरेको गुरुङले गुनासो गरेका छन् ।
पालिकाबाट बिमा कार्यक्रममा आवद्ध रहेका १३ प्रतिशत नागरिकहरु पनि पोखरा, काठमाडौँमा बसोबास गर्ने रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘एक त दर्ता सहयोगी छैनन् । अर्को कुरा पालिकामा बिमा चल्ने स्वास्थ्य संस्था नै छैन । कि आरुघाट, कि त गोरखा बजार पुग्नुपर्छ । त्यसैले पनि मान्छेहरु इच्छुक नभएका हुन् ।’

दुईलाख ५१ हजार २७ जना रहेको गोरखामा एकलाख ४६ हजार २०७ जना मात्र स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध रहेको स्वास्थ्य बिमा बोर्ड, जिल्ला कार्यालय गोरखाले जनाएको छ । यो जिल्लाको कुल जनसङख्याको ५८ प्रतिशत हो । कार्यक्रममा सबैभन्दा धेरै गोरखा नगरपालिकाको ३६ हजार ३८५ जना आवद्ध रहेका छन् । स्वास्थ्य बिमा कार्यक्रमबाट ‘ड्रपआउट’ हुनेको दर भने ३७ प्रतिशत रहेको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्