
नेता रिसाए भन्ने चिन्ता नगरौं, जनता रिसाए भन्ने चिन्ता गरौं : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेता रिसाए भनेर भन्दा पनि जनता रिसाए भनेर चिन्ता गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै थापाले केन्द्रको चिन्ता नगरी जिल्लाका जनताको चिन्ता गर्न सुझाव दिए ।
पार्टीको साधारण सदस्यको महत्व ठूलो भएकाले त्यसको कदर र संरक्षण गर्नु सबैको जिम्मेवारी भएको उनको तर्क थियो । ‘फलानो नेता रिसाए कि, ढिस्कानो नेता रिसाए कि भनेर चिन्ता गर्न छाड्नुस् । पार्टीको चुनाव चिन्हमा भोट हाल्ने जनता किन रिसाए भनेर चिन्ता गर्नुस्’, थापाले भने, ‘माथि, केन्द्र म मिलाउँछु । तल, जिल्ला तपाईहरु मिलाउनुस् ।’ जनता रिसाएर यसपटकको चुनावमा नतिजा बिग्रिएको भन्दै उनले जनता सम्हाल्न आग्रह गरे ।
‘कांग्रेसले अर्काको चुनाव चिन्हमा भोट हाल्नु जस्तो ऐतिहासिक गल्ती अरु केही होइन’, उनले भने, ‘आफ्नो चुनाव चिन्हमा भोट हाल्न नपाएको गुनासो गोरखा कांग्रेससंग छ भनेर यसपटक आफ्नै चुनाव चिन्हमा भोट हाल्न तालमेल नगरी चुनावमा गयौँ, यसपटक पनि कांग्रेसजनहरुले अर्कै चुनाव चिन्हमा भोट हाल्नुभयो । यसबाट पनि धेरै विचलित हुनु जरुरी छैन । हामीले २०६४ को चुनाव पनि भोगेका हौँ । २०७४ को चुनाव पनि भोगेका हौँ । त्यहाँबाट संग्लिएर पहिलो पार्टी बनेका थियौँ । अब फेरि पार्टीलाई ठिक ठाउँमा उभ्याऔँ, आफै सँङ्लिएर आउँछ ।’ आउँदा दिनमा अरु पार्टीको चुनाव चिन्हमा भोट हाल्ने अवस्था सिर्जना नगर्न उनले आग्रह गरे ।
उनले २०८४ को चुनावमा उम्मेद्वार माथिबाट नभै तल्लो तहबाट छान्ने परिपाटीको विकास गर्ने बताए । ‘अँध्यारो कोठामा बसेर यो हाम्रो मान्छे, त्यो फलानोको मान्छे भन्ने दिन गयो’, उनले भने, ‘अब गोरखा नगरपालिकाको मेयरको टिकट कसलाई दिने भन्ने निर्धारण गोरखा नगरपालिकाकै पार्टीले गर्नेछ । अब तल्लो तहको पार्टी सदस्यको अभिमतलाई संस्थागत गर्न चाहन्छौँ । पार्टी सदस्यको शक्तिलाई कदर गर्न चाहन्छु ।’




