| आइतवार, कार्तिक २२, २०८३

बालबालिकालाई भिटामिन ए खुवाउने दिन आज र भोली

दरौंदी समाचारदाता
गोरखामा आज बुधबार र भोली विहीबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए को क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि (अल्वेन्डाजोल) खुवाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका सुचना अधिकारी नवराज खड्काका अनुसार जिल्लाका २२ हजार ५ सय ७३ बालबालीकालाई भिटामिन ए खुवाइँदैछ । १९ हजार ७ सय ४ बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । अल्वेन्डाजोल चकलेट स्वादमा रहेको छ। ‘भिटामिन ए ले बालबालिकालाई रतन्धो हुनबाट जोगाउँछ, रोगसित लड्ने क्षमतामा वृद्धि हुँदा उनीहरुलाई झाडापखाला, श्वास प्रश्वास लगायतका सङ्क्रमणबाट जोगाउछ’ सुचना अधिकारी खड्का बताउँछन्।
‘भिटामिन ए र जुकाको औषधिसँगै ६ महिनादेखी ५ वर्ष मुनिका बालबालिकालाई पोषणका लागि बालभिटा पनि वितरण गरिने भएको छ । बालभिटाभित्र विभिन्न १५ किसिमका पोषकतत्व मिश्रण गरिएको हुन्छ । बिहान खानामा मिसाएर बालभिटा खुवाउन पर्छ। विज्ञका अनुसार बालबालीका जन्मेको ६ महिनादेखी २३ महीनाभित्र १८० प्याकेट बालभिटा खुवाउनु पर्छ । ‘ बालबालिकाको पोषणको अवस्था थाहा पाउन महिला स्वास्थ्य स्वंयसेविकाहरुले पाखुराको पनि नाप लिनुहुन्छ ।’
सुचना अधिकारी खड्काले भने ‘पाखुराको नापले बालालिकाको पोषणको स्थितिलाई देखाउँछ । नापले रातो, पहेँलो र हरियो अवस्था देखिन्छ । रातोले कडा कुपोषित, पहेँलोेले मध्यम र हरियोले कुपोषित अवस्था देखाउँछ ।’कुपोषित देखिएका बाल बालिकाका अभिभावकलाई पोषण खानाको महत्व, स्थानीय तहमा अन्न तथा फलफूलमा पाइने पोषणका बारेमा जानकारी पनि दिईने उनले बताए ।
जिल्लाका सबै स्थानिय तहमा जिल्ला स्वास्थ्य कार्यालयबाट भिटामिन ए, जुकाको औषधि सहित बालभिटा पठाईसकेको सुचना अधिकारी खड्काले जानकारी दिए । बालबालिकालाई जिल्लाका ६ सय २१ केन्द्रबाट ६ सय २४ महिला स्वास्थ्य स्वंयसेविकाले भिटामिन ए खुवाउने भएका छन् । नजिकैको स्वास्थ्य संस्था या वितरण केन्द्रमा आफूलाई पायकपर्ने समयमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खवाउन लैजान उनले आग्रह गरे ।
पहिलो दिनमा छुटेका बालबालिकालाई स्वयंसेविकाले दोस्रो दिन घर घरमा गई ती सेवा प्रदान गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्