
कोही बाहिरिँदैमा निराश नहुन राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना नेता, कार्यकर्ता, शुभेच्छुकहरुलाई निराश नहुन आग्रह गर्नु भएको । राप्रपा गोरखाको जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै लिङ्देनले अहिले राष्ट्रवादी शक्तिको महत्व झन बढेर गइरहेकाले आफ्नो पार्टी झन बलियो र सशक्त हुने दाबी गर्नुभयो ।
महामन्त्री धवल शम्सेर नेतृत्वको टोलीले पार्टी छाडेको तर्फ लक्षित गर्दै उहाँले एउटा जीवन्त पार्टीमा कोही भित्रिने र बाहिरिने नियमित प्रक्रिया भएको दाबी गर्नुभयो । ‘निराश हुनु पर्दैन, राप्रपा कमजोर हुदैन’, उहाँले भन्नुभयो, ‘राप्रपा अझै बलियो बनेर आउँछ । हामी आउँछौँ । अहिले राष्ट्रवादी शक्तिको महत्व झन बढेर गइरहेको छ । त्यसैले कसैले बिचलित हुनु पर्दैन ।’
उहाँले अर्काका गोटी बनेर चल्नेहरु पार्टीमा बसिरहेर भन्दा छाडेर जाँदा पार्टीलाई हित हुने तर्क गर्नुभयो । ‘पार्टीको नेता, कार्यकर्ता, पार्टीको समर्थक भनेको पार्टीका लागि काम गर्ने होइन ? चुनावमा चाहिने होइन ?’ उद्घाटन समारोहमा बोल्दै उहाँले भन्नुभयो, ‘चुनावमा उम्मेद्वारी पनि नदिने, चुनावमा भोट हाल्न पनि नजाने, यो पार्टीलाई राष्ट्रिय पार्टी बन्न दिनु हुन्न भन्नेहरुले पार्टी छोडेर गए त के दुख मान्नु ?’ उम्मेद्वारको आकांक्षीमा नाम लेखाएर टिकट लिने बेला भाग्नेहरुले अहिले पार्टी छोड्यौँ भन्नु हास्यास्पद भएको उहाँको भनाइ छ ।
‘गोरखाबाट एकजना युवाले उम्मेद्वार बन्छु भनेर पार्टीमा नाम पेश गरे । युवा उम्मेद्वार बन्ने भए भनेर खुशी लाग्यो, तर टिकट दिन बोलाउँदा मान्छे नै आएनन् । भोट दिन पनि आएनन् । त्यस्ता मान्छेले पार्टी छोड्यौँ भनेर ढोल पिटाउनुको कुनै अर्थ छैन’, लिङ्देनले भन्नुभयो, ‘८७ बर्षको आराम गर्नुपर्ने उमेरको मान्छेलाई संयोजक बनाउने हो भने बस्छौँ, नभए पार्टी छोड्छौँ भनेर उल्टो–उल्टो कुरा मात्र गरिरहने मान्छेलाई पार्टीमा राखेर काम छैन । कार्यक्रम के हो, यसपछि कहाँ जाने, के गर्ने भन्ने मेसोमेलो नपाउने मान्छेलाई नेतृत्व सुम्पिनु पर्छ भन्नु समय सुहाउँदो छैन ।’




