
काम नगर्ने ठेकेदारलाई कालो सूचीमा राख्ने धार्चेको तयारी
उत्तरी गोरखाको धार्चे गाउँपालिकाले काम नगर्ने ठेकेदारलाई कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको छ । तीन पटक म्याद थप्दा पनि पालिकाको प्रशासकीय भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदारलाई कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले बताए ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माणको ठेक्का चितवनको बिकोई हेमन्त जेभीले लिएको थियो । २०७८ बैशाख ५ गते ठेक्का सम्झौँता गरेको सो भवन निर्माणको काम जेभी कम्पनीले बारम्बार ताकेता गर्दा पनि दुईवर्षदेखि अलपत्र पारेको पालिकाले जनाएको छ । २०७९ माघ २९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौँता गरेकोमा हालसम्म तीन पटक म्याद थप भएको तर कुनै प्रगति नभएको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले जानकारी दिए ।
‘२०८० फागुन २९ गतेसम्म मान्य हुनेगरी पहिलो पटक, २०८१ माघ २९ गतेसम्म मान्य हुनेगरी दोस्रो पटक र २०८२ माघ २९ गतेसम्म मान्य हुनेगरी तेस्रो पटक म्याद थप भयो’, उनले भने, ‘तर तेस्रो पटकको म्याद सकिएर अहिलेसम्म आइपुग्दा काम कत्ति पनि अघि नबढेपछि ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेका हौँ ।’ बस्नेतका अनुसार कामदार र ठेकेदार कम्पनी डेढ वर्षदेखि निर्माण स्थलमा समेत आएको छैनन् । ठेकेदारले झुटो आश्वसन र विभिन्न बाहना बनाई निर्माण कार्य अलपत्र पारेको उनले बताएका छन् ।
उनी भन्छन्, ‘ठेकेदारले भौगोलिक विकटता, हिँउको समस्या जस्ता अतार्किक बाहना बनाएर काम आलटाल गर्दै आएको छ । त्यसैले अहिले ठेकेदार कम्पनीलाई १५ दिनभित्र कार्यसम्पन्न हुन नसक्ने कारणसहित उपस्थित हुन निर्देशन दिएका छौँ ।’ गाउँपालिकाले १५ दिनभित्र निर्माण कम्पनीका आधिकारीक व्यक्तिहरुले कार्यसम्पन्न हुन नसक्ने उचित कारण, कार्य सम्पन्न गर्न सक्ने भए आफ्नो कार्य तालिका, स्रोत परिचालनको भरपर्दो योजना तथा कार्यसम्पन्न गर्ने भरपर्दो प्रतिबद्धतासहित उपस्थित हुन सूचना जारी गरेको छ ।
१५ दिनभित्र उपस्थित नभए कानुन बमोजिम ठेक्का तोडेर निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गर्ने गाउँपालिकाले जनाएको छ । यस्तै, नियमानुसार कार्यसम्पादन जमानत, धरौटी बापतको रकम तथा पेश्की रकमको १० प्रतिशत ब्याज जफत गर्नुका साथै बाँकी कार्य गर्न लाग्ने खर्च समेत असुल उपर गर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
धार्चेको प्रशासकीय भवन निर्माणको हालसम्मको आर्थिक तथा भौतिक प्रगति ५० प्रतिशत रहेको पालिकाले जनाएको छ ।




