| बिहिबार, जेष्ठ २०, २०८३

पालुङटारको नीति तथा कार्यक्रम : अधिकांश पुरानैलाई निरन्तरता


पालुङटार नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३/८४ मा अधिकांश पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ । विहीवार १९ औं नगर सभामा मेयर विवश चिन्तनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बढी यसअघिकै योजनालाई निरन्तरता दिइएको छ ।

‘वनको बाँदर वनैमा’ कार्यक्रमले आगामी बर्ष पनि निरन्तरता पाउने भएको छ । जंगलमा फलफुलका विरुवा रोप्ने कार्यलाई अभियानका रुपमा संचालन गर्ने र बाँदर प्रकोप बढी भएको स्थानहरुमा खुर्सानी, अदुवा, वेसार, जौ, टिमुर, कटहर, कागती जस्ता बाँदरले नष्ट नगर्ने किसिमका वालीहरु लगाउने पालिकाको कार्यक्रम छ । लोक कल्याणकारी किसान कोष मार्फत रैथाने बालीहरुको व्यवसायिक उत्पादन साथै दुध र मासुमा आत्मनिर्भर कार्यक्रमलाई निरन्तरता दिने पालिकको नीति छ ।

कृषि एम्वुलेन्स सेवालाई थप व्यवस्थित र क्षेत्र विस्तार गर्ने योजना पालिकाले लिएको छ । व्यवसायीसँग नगरपालिका अभियान संचालन गर्ने र बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै व्यवसाय गर्न चाहने युवा उद्यमीलाई प्रोत्साहन गर्ने नीति पालिकाले प्रस्तुत गरेको छ ।

स्थानीय स्तरमा रहेका कच्चा पदार्थको उपलब्धताको आकलन गरी समुदायको मागमा आधारित व्यवसाय संचालन गर्न आवश्यक सीप बिकास तालिमको व्यवस्था गर्ने पालिकाले जनाएको छ । पर्यटन बिकासतर्फ पर्यटकीय स्थलहरुको संरक्षण, प्रवद्र्धन तथा प्रचार प्रसार हुने एकीकृत कार्यक्रम लागू गरिने भएको छ । ‘पर्यटकीय क्षेत्रहरुको चिनारी, पर्यटकलाई जानकारी’ भन्ने अभियानलाई थप प्रभावकारी बनाउँदै लगिने मेयर चिन्तनले बताए ।

‘त्यसका लागि पर्यटकीय क्षेत्रहरुको श्रव्यदृष्य सामग्री निर्माण गरी सामाजिक सञ्जालमा प्रचार प्रसार गर्ने व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत गर्ने , आवश्यक पर्यटन पूर्वाधार निर्माण गर्ने लगायतका काम गर्छाै,’ उनले भने । सहकारीको माध्यमबाट सुपथ मूल्यका पसलहरु संचालनको व्यवस्था मिलाउने उनले जानकारी दिए ।

सामुदायिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको सामूहिक दुर्घटना बीमा कार्यक्रमलाई पालिकाले आगामी बर्ष पनि निरन्तरता दिने भएको छ । अभिभावकविहीन अति विपन्न विद्यार्थीलाई शैक्षिक सहायता कार्यक्रमलाई प्रभावकारी बनाउदै लैजाने बताइएको छ । नगरवासीलाई निशुल्क शव वहानको व्यवस्था, गाईखुर स्वास्थ्य चौकीलाई भोटेकाटेलाई आधारभूत नगर अस्पतालमा स्तरोन्नती गर्ने योजना पालिकाको छ ।

प्लाष्टिकमुक्त नगरपालिका बनाउन नगरपालिका कार्यालय अन्तरगत सबै निकायहरुमा प्लाष्टिकका झोला र खादाको प्रयोगलाई निषेध गर्ने नीतिले आगामी बर्ष पनि निरन्तरता पाउने भएको छ । भौतिक पूर्वाधारतर्फ नगरपालिकाको केन्द्रबाट वडा कार्यालयहरु जाने सडक कालोपत्रे गर्ने योजनालाई पालिकाले नगर गौरवको आयोजनाको रुपमा बिकास गरी कार्यान्वयनलाई प्राथमिकता दिने भएको छ ।

नगरपालिका रिङरोड र बसपार्क पूर्णता दिई संचालनमा ल्याउने पालिकाको नीति छ । पालुङटार एयरपोर्ट स्तरोन्नती गरी संचालनमा ल्याउन संघीय सरकारसँग आवश्यक समन्वय गर्ने पालिकाले जनाएको छ । जलस्रोतको दिगोपनाका लागि एक वडा एक रिचार्ज पोखरी निर्माण गर्ने पालिकाको नीति तथा कार्यक्रममा समावेश छ ।

प्रतिक्रिया दिनुहोस्