
सुत्केरी बेथाले च्यापेकी महिलाको उद्धार गर्दै भोटखोलाका प्रहरी
हिमालपारि चुम्चेतमा खटिएका प्रहरीले सुत्केरी बेथाले च्यापेकी एक महिलालाई डोलीमा बोकेर उद्धार गरेका छन् ।
लामो समयदेखि बेथाले च्यापेको तर सुत्केरी हुन नसकेर थला परेकी चुमनुब्री ६ रिप्चेतकी पेमा लामालाई अस्थायी प्रहरी चौकी चुम्चेतमा कार्यरत प्रहरीले डोलीमा बोकेर बर्थिङ सेण्टर पु¥याएका हुन् । गुणस्तरीय स्वास्थ्य सेवा पनि नभएको र यातायात सेवाबाट बञ्चित रहेको रिप्चेतकी २५ बर्षीय पेमालाई प्रहरीले स्थानीय युवा तथा स्वास्थ्यकर्मीसंग समन्वय गरी डेढघण्टाको बाटो पर रहेको बर्थिङ सेण्टर पु¥याएका हुन् ।

उनलाई शनिबार राती १२ बजेदेखि सुत्केरी बेथाले च्यापेका थियो । लक्षण थाहा पाएपछि पेमा घरबाट उठेर गोठमा गएकी थिइन् । आइतबार बिहानसम्म पनि बच्चा जन्माउन नसकेपछि प्रहरीको सहयोगमा उद्धार गरिएको पेमाका भाइ नुर्बु ग्याल्जेनले जानकारी दिए । ‘दिदीलाई बेथा लाग्न थालेपछि गोठमा जानु भएको रहेछ । आमा पनि संगै हुनुहुन्थ्यो’, उनले भने, ‘रातभरि पनि बच्चा भएन । आमाले खबर गरेपछि रिप्चेत हेल्थपोस्टको स्वास्थ्यकर्मी आउनु भयो । उहाँहरुले जति सीप लगाउँदा पनि केही प्रगति भएन । हामीले उद्धारका लागि हेलिकोप्टर बोलाउने प्रयास ग¥यौं । हेलिकोप्टर आउन पनि सम्भव भएन ।’ गुणस्तरीय स्वास्थ्य सेवा र यातायातको सेवाबाट बञ्चित उत्तरी गोरखाको अवस्था दर्दनाक रहेको उनले बताए ।
त्यसपछि उनीहरुले चुम्लिङ बर्थिङ सेण्टर लैजाने निर्णय गरे । चुम्लिङस्थित प्रहरीचौकीसंग बल मागे । ‘उताबाट प्रहरी दाजुभाइहरु पनि आउनु भयो । अनि हामी गाउँले युवाहरु मिलेर दिउसो ११ बजेतिर दिदीलाई डोलीमा बोकेर बर्थिङसेण्टर लग्यौं’, नुर्बु ग्याल्जेनले भने, ‘यहाँबाट ठाडै ओह्रालो बूढीगण्डकीमा ओर्लेर फेरि ठाडै उकालो चढ्नुपर्छ । साँगुरो, भीरको बाटो मान्छे बोकेर हिँड्न यति धेरै गाह्रो छ कि, त्यो भोग्नेलाई मात्र थाहा छ ।’ बाटो बाटोमा बिसाउँदै स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्दै बर्थिङ सेण्टरसम्म मुस्किलले पु¥याएको उनले बताए । स्वास्थ्यकर्मीहरुको कडा मिहिनेतपछि अपरान्ह तीनबजेतिर बल्ल सुत्केरी गराउन सफल भएको उनले बताए ।

‘निषेधित क्षेत्र भएकाले भन्नेबित्तिकै हेलिकोप्टर पनि पाइँदैन । प्रहरी, स्वास्थ्यकर्मी र गाउँले दाजुभाइको कडा मिहिनेत र दिदीको भाग्यले बल्लतल्ल सुत्केरी गराउन सफल भइयो’, नुर्बु भन्छन्, ‘सहरमा भएको भए सुत्केरी हुने समय आएपछि अस्पताल भर्ना भएर बस्ने सुविधा हुन्थ्यो । दुर्गमको अबस्था यस्तो दर्दनाक छ ।’
पेमाले आइतबार दिउसो तीनबजेतिर पहिलो सन्तानका रुपमा छोरा जन्माएकी छिन् । सोमबार बिहानसम्म बच्चाको अबस्था सामान्य छ, तर पेमाको अबस्था भने जटिल रहेको नुर्बुले जानकारी दिए ।





