
बारपाक सुलिकोटले संचालनमा ल्यायो १५ शैयाको आधारभूत अस्पताल
बारपाक सुलिकोट गाउँपालिकाले १५ शैयाको आधारभूत अस्पताल संचालनमा ल्याएको छ । वडा नम्वर ४ हुडीफाँटमा रहेको अस्पतालले गणतन्त्र दिवसको अवसर पारेर शुक्रवारबाट सेवा शुभारम्भ गरेको हो ।
अस्पतालमा एक जना एमजिडीपी डाक्टरसहित दुई जना मेडिकल अफिसर, एक जना एनेस्थेसिया सहायक र २० जना नर्सिङ स्टाफ रहने छन् । सामान्य स्वास्थ्य उपचारदेखि आकस्मिक सेवासम्म अस्पतालबाट प्रदान हुने प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए । ‘आधारभूत स्वास्थ्य सेवा आजबाट सुरु भयो,’ उनले भने, ‘साउन १ गतेबाट अन्य सेवा संचालन हुन्छ ।’ सो समयभित्र आवश्यक जनशक्ति समेत पदपूर्ति भइसक्ने उनले जानकारी दिए ।
आवश्यक जनशक्तिका लागि पालिकाले निक साइमन्स इन्टिच्यूटसँग सम्झौता गरेको छ । एमजिडीपी डाक्टरसहित मेडिकल अफिसर, एनेस्थेसिया सहायक, ल्याव टेक्निसियन र एचए गरी कुल ६ जना चिकित्सक पाँच बर्षका लागि उपलब्ध गराउने सम्झौता भएको आलेले बताए । ‘असारसम्म प्रदेश अस्पताल गोरखासँग उहाँहरुको सम्झौता रहेछ, त्यो सकेपछि यता आउनुहुन्छ,’ उनले भने । आवश्यक अन्य जनशक्ति भने पालिकाबाट पदपूर्ति भइरहेको उनले जानकारी दिए । असार मसान्तभित्र सबै जनशक्ति परिपूर्ति भइसक्ने बताइएको छ ।
अस्पतालबाट स्थानीयले भिडियो एक्स–रे, शल्यक्रिया, एक्स–रे, बिरामी भर्ना, डेन्टल, आँखा र ल्याव लगायतका सेवा पाउनेछन् । आवश्यक उपकरण समेत खरिद भइसकेको पालिकाले जनाएको छ । १६ रोपनी जग्गामा अस्पतालको भवन निर्माण भएको छ । भवनमा कुल ५५ कोठा छन् । बहिरंग, अन्तरंग, आकस्मिक, प्रसूती, डेन्टल, आँखा, प्रयोगशाला, फार्मेसी लगायतका सेवाका लागि छुट्टछुट्टै कक्ष छन् ।
संघीय सरकार र पालिकाको लागत साझेदारीमा अस्पताल भवन निर्माण भएको हो । ‘१३ करोड ५७ लाख ४५ हजार लागतमा भवन निर्माण भएको हो,’ प्रमुख प्रशासकीय अधिकृत आलेले भने, ‘त्यसमा संघको ८० र पालिकाको २० प्रतिशत लागत सहभागीता छ ।’ २०७८ साल असार १३ गते सम्झौता भएर निर्माण कार्य अघि बढेको थियो । २०८२ पुस २८ मा निर्माण कार्य सम्पन्न भएको हो । ओमबुद्ध बुद्ध नवकान्तिपुर जेभीले भवन निर्माणको जिम्मा पाएको थियो ।
एमजिडीपी डाक्टरसहितको सेवा सुरु गर्ने जिल्लाकै पहिलो पालिका स्तरीय अस्पताल आफूहरुको रहेको पालिकाको दावी छ । आधारभूत अस्पताल संचालन भएसँगै स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्ने र सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । मातृ तथा शिशु मृत्युदर समेत घट्ने अपेक्षा पालिकाको छ ।
सहिद प्रेम ढकाल स्मृति नामाकरण गरिएको उक्त आधारभूत अस्पतालको नवनिर्मित भवन शुक्रवार एक कार्यक्रमकाबीच पालिका अध्यक्ष बिष्णु भट्टले उद्घाटन गरेका छन् । कार्यक्रमको अवसर पारेर पालिकाले विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई समेत सम्मान गरेको छ ।
२०८२ सालको एसईई परीक्षामा ४ जिपिए ल्याउने शैलपुत्री माविका यूनिक पनेरुलाई एक लाख नगदसहित सम्मान गरिएको पालिकाले जनाएको छ । त्यस्तै ३.६१ जिपिए ल्याएका विद्यार्थीलाई १५ हजार र ३.४ देखि ३.५९ जिपिए ल्याएका सात जना विद्यार्थीलाई जनही सात हजार नगदसहित कदरपत्रले सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत आलेले बताए । कक्षा ५, ८ र १२ को परिक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाई पनि सम्मान गरिएको उनले जानकारी दिए ।
‘पालिकाभित्रका सामुदायिक विद्यालयबाट कक्षा ५, ८ र १२ को परीक्षामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेका हौ,’ उनले भने ।
पालिकाभित्रका तहगत र बिषयगत शिक्षकहरु पनि सम्मानित भएका छन् । कक्षा १२ का दश जना, कक्षा १० का नौ जना, कक्षा ८ का सात जना र कक्षा ५ का ६ जना शिक्षकहरुलाई सम्मान गरिएको पालिकाले जनाएको छ । बिषयगत विधामा उत्कृष्ट शिक्षकको रुपमा उनीहरु नगदसहित सम्मानित भएका हुन् । उत्कृष्ट प्रधानाध्यापकको रुपमा मावितर्फ शैलपुत्री माविका प्रअ रामकुमार अम्गाई र आधारभूततर्फ स्टुल आधारभूत विद्यालयका प्रअ टिकाबहादुर आले सम्मानित भएका छन् ।
त्यस्तै पालिकामा कार्यरत ६ जना कर्मचारीहरु पनि सम्मानित भएका छन् । कार्यक्रमकै अवसरमा शहिदको बलिदानी र संघीय लोकतान्त्रिक गणतन्त्र बिषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत भएको थियो । प्रतियोगितामा माझथर माविकी बिमला गुरुङ पहिलो, जलकन्यादेवी माविकी योगिशा पुवर थापा क्षेत्री दोस्रो, दर्गा माविका वुधभागी गुरुङ तेस्रो र हिमालय मावि सौरपानीका अग्रिम पनेरुले सान्त्वना स्थान हासिल गरेका छन् । उनीहरुले क्रमश सात हजार, पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कार पाएका छन् । कार्यक्रमकै अवसरमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा समेत गरिएको छ ।




