| आइतवार, जेष्ठ १६, २०८३

ऐतिहासिक र सांस्कृतिक सम्पदाहरुको फोटो प्रदर्शनी सुरु

जिल्लामा विश्व सम्पदा सूचिमा समावेश भएका ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरुको फोटो प्रदर्शनी सुरु भएको छ । हनुमानढोका दरवार संग्रहालयको आयोजना तथा गोरखा संग्रहालयको सहआयोजनामा शनिवारबाट प्रदर्शनी सुरु भएको हो ।
गोरखा संग्रहालय परिसरमा भएको प्रदर्शनीमा विश्व सम्पदा सूचिमा समावेश भएका र सम्भावित रहेका ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानहरुको फोटो राखिएको हुनमानढोका दरवार संग्रहालय प्रमुख काजिमान प्याकुरेलले बताए ।

हनुमानढोका दरवारका केही दुर्लभ फोटोहरु, विश्व सम्पदा सूचिमा समावेश भएका काठमाडौंका पुरातात्विक र धार्मिक महत्वका स्थान र गोरखा, कपिलवस्तु लगायतका सम्पदा सूचिका सम्भावित स्थानहरुको फोटो प्रदर्शनका लागि राखेका छौ,’ उनले भने ।

संग्रहालय र विश्व सम्पदाको महत्वबारे जनचेतना फैलाउने उदेश्यले विगत केही बर्षदेखि यस्ता कार्यक्रम गर्दै आएको उनले जानकारी दिए । जिल्लामा भएको प्रदर्शनीले गोरखा काठमाडौंसँगको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा समेत उनको छ ।

‘गोरखा र काठमाडौंको सम्वन्ध पृथ्वीनारायण शाहभन्दा पनि अघि देखिको हो । लिच्छिवी कालदेखि नै यो सम्बन्ध पाइन्छ,’ उनले भने, ‘सांस्कृतिक सम्बन्धलाई नबिग्रने गरी हिजो टुटे फुटेका इतिहासका श्रृंखलालाई जोड्ने प्रयास पनि हो ।’
प्रदर्शनी एक हप्तासम्म चल्ने बताइएको छ । ५० भन्दा बढी फोटो प्रदर्शनीका लागि राखिएको गोरखा संग्रहालय प्रमुख जयनारायण कार्कीले बताए । पर्यटन प्रवद्र्धनमा समेत यसले सहयोग पुग्ने उनको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्