| शुक्रबार, जेष्ठ १४, २०८३

शैक्षिक गुणस्तर उकास्न धार्चेमा अभिभावक शिक्षा

शैक्षिक गुणस्तर सुधार गर्न भन्दै धार्चे गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीको शैक्षिक उन्नयनमा शिक्षक र विद्यार्थीको मात्र भूमिका नभै अभिभावकको भूमिका समेत महत्वपूर्ण हुने भएकाले अभिभावक शिक्षा सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।

अहिलेसम्म तीनवटा माध्यमिक विद्यालयको क्षेत्रभित्र अभिभावक शिक्षा कार्यक्रम सञ्चालन भइसकेको छ । ‘अभिभावकहरुमा बालबालिकाको शिक्षा, अनुशासन र व्यवहारप्रति जिम्मेवारीबोध वृद्धि हुने, विद्यालय र अभिभावकबीच समन्वय, सहकार्य तथा विश्वास अभिवृद्धि हुने साथै विद्यार्थीको समग्र शैक्षिक, सामाजिक तथा नैतिक विकासमा अभिभावकको सक्रिय सहभागिता बढाउने उद्देश्यले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेका हौं’, गाउँपालिका प्रमुख लक्ष्मण गुरुङले भने, ‘अहिलेसम्म मञ्जुश्री मावि काशिगाउँ, केरौंजा मावि केरौंजा र गण्डकी मावि रुञ्चेतमा कार्यक्रम सञ्चालन गरेका छौं ।

’ दोस्रो चरणमा मणिकामदेवी मावि लाप्राक, सूर्योदय मावि गुम्दा र कालरात्री मावि लापुमा सञ्चालन गर्ने र तेस्रो चरणमा सातकन्या मावि खोर्ला, जनजागृति मावि माछाखोला र प्रभातकिरण मावि लापुबेशीमा कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

कार्यक्रममा भीमोदय क्याम्पसका प्रमुख डाक्टर वीरेन्द्र पुडासैनी र भीमोदय माविका सहायक प्रअ प्रदीप गुरुङले सहजिकरण गरेका गाउँपालिकाले जनाएको छ । स्थानीय अभिभावक र स्थानीय सरकारको पनि सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले गाउँपालिकाका प्रमुख, उपप्रमुखको पनि सो कार्यक्रममा सहभागिता रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्