
पालुङटारमा तीनपाङ्ग्रे सवारी(अटो) चलाउन आवेदन खुल्ला
गोरखामै पहिलो पल्ट, पालुङ्टार नगरपालिकामा तीनपाङ्ग्रे सवारी साधन(अटो) चलाउन अनुमति दिने प्रक्रिया सुरु भएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै पालिकाले अटो चलाउन इच्छुकहरुलाई निवेदन दिन आग्रह गरेको छ ।
नगरपालिकाले तयार गरेको फम्र्याटमा निवेदन, सवारी दर्ता तथा नविकरणको प्रमाणपत्र, सवारीधनी(ब्लुबुक)को प्रतिलिपि, लगायतका कागजपत्रका साथ निवेदन दिन पालिकाको सूचनामा उल्लेख छ । सवारी जाँचपास, करचुक्ताको प्रमाणपत्र, बिमा लगायतका कागजात पनि पेश गर्न भनेको छ ।
यसअघि पालुङटार नगरपालिकामा तीन पाङ्ग्रे सवारी (अटो) संचालनका लागि रुट निर्धारण भइसकेको छ । आठ वटा स्थानबाट बिभिन्न ठाउँमा जाने गरी पालिकाले रुट निर्धारण गरेको हो । पालिकाका अनुसार ठाँटीपोखरीबाट ओख्ले, धाराचौतारो, लुइँटेल, हवाइग्राउण्ड प्रहरी बिट र पौवाटारमा अटो संचालन हुने छ । पौवाटारबाट सेरा, बिमलनगर र बिरुवाटार चल्ने छ ।
बिरुवाटारबाट फेदी जुडीखोला, रातमाटे, दुभार र नयाँपुल पुग्ने छ भने रातमाटेबाट बन्चरे दुबार नयाँपुल, अकला, सत्रसय, बिरुवाटार र मूलाबारीसम्म अटो संचालन हुने नगर प्रमुख विवश चिन्तनले बताए । सेराबाट पौवाटार र बिर्दी जाने उनले जानकारी दिए । ‘ढुङ्गेटारीबाट सेरा, सातदोवाटो, दश किलो र भट्टवेशीसम्म अटो चल्छ’, उनले भने, ‘सातदोवाटोबाट पाउरोटी भण्डार, जोगी डिही, ढुङ्गेटारी, छेपेटार पुल र जोर्र्ती चौतारासम्म जाने गरी रुट निर्धारण गरेका छौँ ।’ जोर्ती चौताराबाट वडा नम्वर १ को कार्यालय, बिमिरे र सातदोवाटोसम्म अटो चल्ने उनले बताए ।
पालिकाका अनुसार पक्की सडकको हकमा तीन किलोमिटरसम्म प्रतिव्यक्ति ३५ रुपैया र त्यसपछि प्रतिकिमि १० रुपैयाका दरले थप हुदैँ जाने गरी भाडा तोकिएको छ । कच्ची सडकको हकमा भने तीन किमिसम्म ४५ रुपैया र त्यो भन्दा बढी भएमा प्रतिकिमी १५ रुपैयाका दरले भाडा थपिदै जाने बताइएको छ ।




