
रेबिजको जोखिम न्यूनिकरण गर्न धार्चेको कुकुर बन्ध्याकरण अभियान
भुस्याहा कुकुरको संख्या बढ्दै गएको र रेबिजको जोखिम बढ्दै गएकाले सो समस्या न्यूनिकरण गर्न धार्चे गाउँपालिकाले भुस्याहा कुकुरलाई बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । गत आइतबारदेखि सञ्चालन गरिएको तीनदिने अभियानमा ९२ वटा कुकुरलाई बन्ध्याकरण गरिएको पालिकाले जनाएको छ ।
भाले र पोथी दुवै खालका कुकुरलाई बन्ध्याकरण गरिएको पालिकाको भनाइ छ ।
माछाखोला, खोर्लाबेशी, लापुबेशी, दोभान लगायतका ग्रामीण बजार क्षेत्रमा भुस्याहा कुकुरको संख्या बढिरहेको र यसले रेबिजको जोखिम बढाउने भएकाले बन्ध्याकरण अभियान सञ्चालन गरेको गाउँपालिका प्रमुख लक्ष्मण गुरुङले जानकारी दिए ।
चुमनुब्री गाउँपालिका तथा धार्चेको विभिन्न गाउँबाट मान्छेहरु हिँडेर आउँदा कुकर पछि लागेर आउँदो रहेछ । अनि उनीहरु माछाखोला, लापुबेशी, खोर्लाबेशी तथा दोभानबाट गाडी चढ्दा कुकुरचाहिँ यतै छोडिने रहेछ’, गुरुङ भन्छन्, ‘अनि घुम्ती गोठहरुबाट भेँडा ल्याउँदा कुकुर पनि संगै आउने र कतिपय यतै छोडिएर पनि संख्या बढिरहेको हुन्छ । गाउँपालिकामा विभिन्न काम लिएर आउने गाउँलेको पछि लागेर आएका कुकुर पनि यतै छोडिएर यता भुस्याहा कुकुरको संख्या अत्यन्तै धेरै भयो । यसले रेबिजको जोखिम पनि बढ्यो । त्यसैले स्थानीयबासीको मागअनुसार बन्ध्याकरण अभियान चलाएका हौँ ।’ सो अवसरमा घरमा पालिएका कुकुरलाई खोप पनि लगाइएको उनको भनाइ छ ।
गतबर्षबाट सुरु गरिएको यो कार्यक्रम अत्यन्त प्रभावकारी रहेको पालिका अध्यक्ष गुरुङको भनाइ छ । ‘
आइतबार विभिन्न ठाउँहरुमा गई कुकुरलाई लठ्याएर गाउँपालिकाको केन्द्र माछाखोलाबजारसम्म ल्याइएको, सोमबार बन्ध्याकरण गरिएको र मंगलबार तिनीहरुलाई साबिककै ठाउँमा फर्काइएको पशु सेवा प्राविधिक हर्क कार्कीले बताए ।
बन्ध्याकरण अभियानमा १२ जना प्राविधिक टोली खटिएका थिए । ‘मानव पशु तथा बाली संरक्षणका लागि युवा भन्ने संस्थाको प्राविधिक सहयोग र गाउँपालिकाको आर्थिक व्यवस्थापनमा अभियान चलाइएको हो’, राईले भने, ‘अब कुनै गाउँ टोलबाट माग भई आयो भने फेरि शिविर चलाउँछौँ ।’ प्रभावकारी भएकाले कुकुर बन्ध्याकरण कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।




