
चुमनुब्रीका महिला समूहलाई सम्भव नेपालद्वारा कुर्ची प्रदान
सम्भव नेपालले हिमाली क्षेत्रका महिला समुहको कार्यालय प्रयोजनका लागि कुर्सी प्रदान गरेको छ । दुर्गम तथा हिमाली क्षेत्रका महिलाहरूलाई कार्यालय सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले चुमनुब्री गाउँपालिकाका विभिन्न महिला समूहहरूलाई प्लास्टिकका कुर्सी प्रदान गरेको हो ।
गाउँपालिकाका सातवटै वडामा रहेका कुल १४ वटा महिला समूहलाई शनिबार एक कार्यक्रमको आयोजना गरी कुर्ची हस्तान्तरण गरिएको हो ।
सम्भव नेपालका कार्यक्रम व्यवस्थाप उत्तम अधिकारीले महिला समूहका प्रतिनिधिहरूलाई कुर्सी हस्तान्तरण गर्दै ग्रामीण तथा विकट क्षेत्रका महिलाहरूलाई आफ्ना नियमित बैठक, सामाजिक कार्यक्रम तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले कुर्ची सहयोग गरिएको बताए ।
अधिकारीले महिला समूहहरू स्थानीय विकास, सामाजिक एकता र महिला नेतृत्व निर्माणमा महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्तो सहयोगले महिलाहरूको सहभागिता अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् । कुर्ची पाएपछि समूहहरूको बैठक सञ्चालन, योजना निर्माण तथा सामुदायिक कार्यक्रमहरू व्यवस्थित रूपमा गर्न सहज हुने अपेक्षा गरिएको छ ।
सामग्री ग्रहण गर्दै महिला समूहका पदाधिकारीहरूले सम्भव नेपालले विकट क्षेत्रका महिलाहरूको आवश्यकता पहिचान गरी सहयोग गरेकोमा खुशी व्यक्त गरेका थिए । यो सहयोगले चुमनुब्रीका महिलाको नेतृत्व विकासमा थप टेवा पुग्ने र आगामी दिनमा सामाजिक गतिविधि प्रभावकारी बन्ने स्थानीय महिलाहरुको विश्वास छ ।
‘हामीले यसअघि बैठक र कार्यक्रम सञ्चालन गर्दा बस्नका लागि सामग्रीको अभाव झेलिरहेका थियौँ, चिसो भुईमा बसेर मिटिङ गर्नुपर्ने, छलफल गर्नुपर्ने बाध्यता थियो’, फिलिम आमा समुहकी सचिव सोनी गुरुङले भनिन् ‘अब समूहका गतिविधि सञ्चालन गर्न धेरै सहज हुने भएको छ ।’
सम्भव नेपालले गोरखा जिल्लाका ग्रामीण महिलाहरूलाई आत्मनिर्भर र सशक्त बनाउन लामो समयदेखि विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअघि पनि संस्थाले गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, शहिद लखन गाउँपालिका, भिमसेनथापा गाउँपालिका र आरुघाट गाउँपालिका लगायतका क्षेत्रमा महिला समूहहरूको क्षमता अभिवृद्धिका लागि कुर्सी, टेबल, टेण्ट, भाँडाकुँडा तथा साउण्ड सिस्टम जस्ता सामग्री वितरण गरिसकेको जनाएको छ ।




