| बुधबार, जेष्ठ ५, २०८३

भिमसेनथापामा जथाभावी फोहोर फाल्नेलाई चारहजार जरिवाना

गोरखाको भिमसेनथापा गाउँपालिकाले पालिकाभित्र जथाभावि फोहोर फाल्नेलाई चारहजार रुपैँया जरिवाना गर्ने भएको छ । नकुहिने फोहोर जथाभावी फ्याक्ने प्रवृत्तिलाई निरुत्साहन गर्न यस्तो कदम चालेको पालिकाले जनाएको छ ।

पालिकाले एक सूचना जारी गर्दै मंगलबारबाट लागू हुने गरी यदि कसैले बाटोघाटो, सार्वजनिक स्थान वा तोकिएको संकलन केन्द्रभन्दा बाहिर नकुहिने फोहोर फालेको पाइएमा जरिवाना हुने जनाएको हो । भिमसेनथापा गाउँपालिकाले पालिकाभित्र नकुहिने फोहोर संकलन तथा व्यवस्थापन कार्यक्रम संचालन गरेको छ । कार्यक्रमअन्तरगत पालिकाले मासिक रुपमा नकुहिने फोहोर संकलन गर्ने दिन, समय र रुट निर्धारण गरेर फोहोर व्यवस्थापन गर्न लागेको हो ।

नकुहिने फोहोर अन्तरगत पनि संवेदनशील फोहोर (धातु, प्लाष्टिक, रबर, पेपर) तथा अतिसंवेदनशील फोहोर अन्तरगत (काँच, सिसा, टिन, किलाकाँटी, ब्लेड, धारिलो बस्तु) छुट्टाछ्टै रुपमा सरसफाई गाडीमा बिसर्जन गर्न पनि पालिकाले अनुरोध गरेको छ ।

नकुहिने फोहोरहरुले माटोको उर्वरा शक्ति नष्ट गर्ने, पानीका स्रोतहरु दुषित पार्ने र त्यस्ता फोहोरहरुलाई जलाउँदा जलवायु, मानव स्वास्थ्य तथा पशुपंक्षीको स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा फोहोर व्यवस्थापन गर्न लागेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्