| मङ्लबार, जेष्ठ ४, २०८३

बेनिघाट–आरुघाट–लार्के सडकका लागि ५१ करोड बजेट सुनिश्चित

गोरखालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकका लागि यस वर्ष ५१ करोड बजेट सुनिश्चित भएको हो ।

धार्चे गाउँपालिकाको केन्द्र माछिखोलादेखि हावाडाँडासम्म सडक कालोपत्रेका लागि ५१ करोड बजेट सुनिश्चित भएको धार्चे गाउँपालिकाले जनाएको छ । गोरखा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य एवं निवर्तमान गृहमन्त्री सुधन गुरुङले पनि आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सडक कालोपत्रेका लागि बजेट सुनिश्चित भएको जानकारी दिएका छन् ।

माछिखोलादेखि धार्चे–७ हावाडाँडासम्म सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयबाट ५१ करोडको स्रोत सहमति स्वीकृत भएको गुरुङले जनाएका छन् ।

बेनिघाट–आरुघाट–लार्के सडक अन्तरगत हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ । यस्तै, ३६ किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् । चुमनुब्री गाउँपालिका–३ पेवासम्म मार्ग खनिएको छ । पाङसिङसम्म मोटर पुगेको छ ।
बेनीघाट, आरुघाट, लार्के सडकको एक सय ५४ किलोमिटरमध्ये धार्चे–७ हावाडाँडाबाट ९२ किलोमिटर सडकको काम नेपाली सेनाले गरेको हो । ठूला पहरा र कडा चट्टान भएकाले विस्फोटनको काम गर्न सडक विभागले सो खण्डको काम गर्ने जिम्मा सेनालाई दिएको थियो ।

चीनको सीमा लार्के भन्ज्याङसम्मको एक सय ५४ किलोमिटर खण्डमध्ये बेनीघाटबाट हावाडाँडासम्मको ६२ किलोमिटरसम्मको काम भने गोरखा सडक योजना कार्यालयले गरेको हो । सेनाले मार्ग खोलेर गाडी चल्न सक्ने बनाएको दोभानसम्मको खण्ड पनि गोरखा सडक योजना कार्यालयलाई हस्तान्तरण गरेको छ ।

सडक योजना कार्यालय र सेनाले निर्माण गरेको गरी जम्मा ९७ किमी खण्डमा सवारीसाधन चल्न थालेका छन् । बर्खाका बेला पनि सवारीसाधन आवागमन गर्न सजिलोका लागि नेपाली सेनाले माछीखोलामा बेलीब्रिज निर्माण गरेको छ ।

बेनीघाटबाट आरुघाट हुँदै आर्खेतसम्म सडक निर्माणको काम २०५२ सालमा सुरु भएको थियो । आर्थिक वर्ष २०६३÷६४ मा बेनीघाट आरुघाट लार्केभञ्ज्याङ सडक नामकरण गरिएको थियो । आव २०६६÷६७ मा मात्र उक्त सडक निर्माण सुरु भएको थियो । तर हावाडाँडाबाट एक किलोमिटर क्षेत्र कडा चटानयुक्त भिर रहेकाले पाँच वर्षसम्म ट्रयाक खोल्ने काम अगाडि बढ्न सकेन ।

कठिन मानिएको ९२ किमी खण्डको काम गर्न सडक विभागले २०७४ वैशाखमा नेपाली सेनालाई हस्तान्तरण गरेको हो । विसं २०७३ मङ्सिरमा मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि नेपाली सेनाले २०७४ वैशाखदेखि काम सुरु गरेको थियो ।
उक्त सडक धार्चे गाउँपालिकाको लापुबेँसी, माछाखोला, जगत हुँदै चुमनब्री गाउँपालिकाको सिर्दिबस, बिही, प्रोक, सामागाउँ, साम्दो हुँदै चीनको सीमा लार्केभञ्ज्याङ जोडिने छ । उक्त सडकलाई उत्तरी गोरखाको लाइफ लाइनका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्