
सँधै प्रथम भएका युनिकले एसईईमा ल्याए ४ जिपिए
शैलपुत्री माविको इसिडीदेखि नै प्रथम हुँदै कक्षा १० सम्म पुगेका युनिक पनेरुले यसबर्ष ४ जिपिए ल्याएर एसईई उतीर्ण गरेका छन् । गोरखाको ग्रामीण भेग बारपाक सुलिकोट ८ गैरीछापका १४ बर्षका पनेरु यस बर्षको एसईई परीक्षामा ४ जिपिए ल्याएर जिल्लाकै सर्वोत्कृष्ठ दुईमध्य एक बन्न सफल भएका हुन् ।
उनी शिशु कक्षादेखि नै शैलपुत्री माविमा पढ्थे । गैरीछापदेखि पाँचखुवा देउरालीसम्म पुग्न उनलाई एकघण्टाभन्दा धेरै हिड्नुपथ्र्यो । उनकी आमा कल्पना देवकोटा सोही विद्यालयमा पढाउँथिन्, बुबा विन्द्रावती मावि मसेलमा । आमाको औंला समातेर उकाली ओह्राली गर्दै विद्यालय आउजाउ गर्ने उनले अहिले जिल्लाकै उत्कृष्ट नतिजा ल्याएर बुबा आमालाई सन्तोष दिए ।
‘सबै विषयको बराबर रुटिङ बनाएर पढ्ने बानी थियो । राती १२ बजेसम्म पढ्थ्यो । बिहान पाँच बजे उठेर पढ्थ्यो’, छोराको आनिबानी सम्झँदै आमा कल्पना भन्छिन्, ‘तर जाँचमाचाहिँ बेलुका नौबजेसम्म पढ्थ्यो । बिहान ६ बजे उठेर पढ्थ्यो । जाँचको बेलामा मस्त सुत्नुपर्छ, निद्रा बिगार्नु हु्न्न भन्थ्यो ।’ उनको यही आनिबानीले उत्कृष्ट नतिजा दिएको उनको भनाइ छ ।
१० कक्षामा पुगेपछि उनले मोबाइल एपबाट पढ्न थालेका आमा कल्पना बताउँछिन् । ‘मोबाइल एपबाट पढेपछि पुग्छ, ट्य्ुशन पढ्नुपर्दैन भन्थ्यो’, उनले भनिन्, ‘हामीले नै करकाप गरेर स्कूलमा ट्युशन पढ्न लगाएका हौँ ।’
गतबर्ष एसईई सुरु हुनुभन्दा अघि बारपाक सुलीकोट गाउँपालिकाले ४ जिपिए ल्याउने विद्यार्थीलाई एकलाख पुरस्कार दिने घोषणा गरेको सम्झँदै कल्पना भन्छिन्, ‘यो पुरस्कार म जसरी पनि हात पार्छु भन्थ्यो । फेरि स्कूलमा अंग्रेजी र गणित पढाउने शिक्षहरुले पनि आफ्नो विषयमा ४ जिपिए ल्याउने विद्यार्थीलाई दुई–दुई हजार पुरस्कारको घोषणा गर्नुभएको थियो । त्यो पनि हात पार्छु भन्थ्यो ।’
परीक्षा सक्नेवित्तिकै आफूले ४ जिपिए ल्याउने निश्चित गरेको युनिकको भनाइ छ । ‘कत्तिपनि बिग्रिएको थिएन, त्यसैले ४ जिपिए आउँछ भन्नेमा म पक्का थिएँ’, उनी भन्छन् ।
अब ११ र १२ मा विज्ञान विषय लिएर पढ्ने र उच्च शिक्षामा पनि फिजिक्स पढ्ने उनी बताउँछन् । ‘आइनस्टाइनबाट प्रभावित भएर फिजिक्स पढ्न मन लागेको छ’, उनी भन्छन् ।
आफूहरुले घोषणा गरेको पुरस्कारले नतिजामा सुधार आएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट बताउँछन् । ‘गतबर्ष पनि सूर्यज्योति माविबाट एकजनाले ४ जिपिए ल्याएका थिए । अहिले पनि ल्याए, खुशीको कुरा हो’, उनले भने ।




