
दुई दसकदेखि स्थानीय प्रशासनलाई जिस्क्याइरहने बारकिलो बजार
सार्वजनिक जग्गामा बजार गुल्जार
आँबुखैरेनी गोरखा सडकको मध्यविन्दूमा अवस्थित बारकिलो बजार सार्वजनिक जग्गामा गुल्जार भएको बजार हो । गोरखा नगरपालिका ११ स्थित बारपाक सडकको जिरो किलोमिटरमा रहेको सो बजारका करिब ४० घर टहरा सबैले सार्वजनिक जग्गा अतिक्रमण गरेका छन् ।
सो जग्गा ओख्लेपाखा सामुदायिक वनभित्र पर्दछ ।
सार्वजनिक जग्गा अतिक्रमण गरी बजार गुल्जार भएको भन्दै स्थानीय स्तरबाट आलोचना हुन थालेपछि वन डिभिजन कार्यालयले २०७३ सालको कात्तिकमा डोजर लगाएर त्यहाँका सबै घर टहरा भत्काएको थियो । साबिकको बजार भताभुंग भएपछि केही व्यापारीले सो चोकभन्दा माथिको नम्बरी जग्गामा घर बनाएर व्यापार गर्न थाले भने केहीले चोकभन्दा तलको निजी स्वामित्वकै जग्गामा स्थायी संरचना बनाई व्यापार व्यवसाय गरेका थिए ।
तर केही व्यवसायीहरुले वन डिभिजन र स्थानीय प्रशासनलाई गिज्याउँदै सोही सार्वजनिक जग्गामा पुनः अस्थायी टहरा बनाई पसल सञ्चालन गर्न थालेका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कलाधर वस्ती बताउँछन् । अहिलेसम्म उनीहरुले सार्वनजिक जग्गा कब्जा गरी व्यापार ब्यबसाय गरिरहेका छन् ।
‘हाम्रो वन क्षेत्रभित्र कसैसंग अनुमति नलिई अतिक्रमण गरेर बजार बनाएका छन् । सडक क्षेत्रको दायावायाँ करिब ५० मिटर जग्गा मिचेर बजार गुल्जार बनाएका छन्’, वस्तीले भने, ‘बजारबाट निस्केको प्लास्टिक, सिसा र अरु सबै खालका फोहर वनभित्र जथाभावी फाल्छन् । कोही बिरोध गर्न गयो भने कुटौंलाझैँ गर्छन् ।’ यहाँ सार्वजनिक जग्गा अतिक्रमण गर्नेमध्य केही स्थानीय र धेरैजसो बाहिरबाट आएका उनको भनाइ छ । ‘कुनै राजनीतिक पार्टीको शक्तिमा छन्, कसैलाई टेर्दैनन्’, उनले भने ।
१० बर्षअघि स्थानीय जनतासमेत जागेर वन डिभिजन कार्यालयले सार्वजनिक जग्गा खालि गराएको थियो । तर एकबर्षभित्रै फेरि बजार जस्ताकोतस्तै भयो । प्रशासनले पनि केही गर्न सकेन । राज्यको नियम कानून मिच्नेहरुले प्रशासनलाई गिज्याइरहेका छन् । राज्य पनि मौन छ ।
यही चोकबाट छेपेटार हुँदै बारपाक सडक खुलेपछि २०६० सालतिरबाट सार्वजनिक जग्गा कब्जा गरी पसलको संरचना बनाउन थालिएको थियो । कतिपयले ढलान घर नै बनाएका थिए । दुई दशकभन्दा पहिलेदेखि भएको सार्बजनिक जग्गा अतिक्रमणको समस्या आजसम्म पनि समाधान गर्न नसकिएको समितिका सदस्य कृष्ण लामिछानेको गुनासो छ । ‘अहिले त भित्रभित्रै यहाँको जग्गा एकले अर्कालाई दुई लाख, तीनलाख लिएर बेच्ने पनि गरेका छन्’, उनले भने, ‘सुनिन्छ, यहाँको पसललाई घरेलु उद्योगमा, नगरपालिकामा फर्म दर्ता गरेर कारोबार गरिरहेका छन् ।’ राज्यको नीति नियमको ठाडो उल्लंघन गरी मनपरी भइरहेको स्थानीयबासीको गुनासो छ ।
अहिले नेपाल सरकार, जिल्ला प्रशासन कार्यालय, पालिकाहरुले समेत सूचना जारी गरी सार्वजनिक जग्गा कब्जा गरी बनाइएका घर टहरा तत्काल खालि गर्न निर्देशन गरेका छन् । तर बारकिलो बजारले भने तीनै तहको सरकारलाई गिज्याइरहेको छ ।




