
धार्चेद्वारा सार्वजनिक जग्गाका संरचना हटाउन निर्देशन
सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना खाली गर्न उत्तरी गोरखाको धार्चे गाउँपालिकाले ३५ दिनको अल्टिमेटम दिएको छ । गाउँपालिकाको बैशाख २४ गते बसेको कार्यपालिका तथा गाउँपालिकाको सार्वजनिक जग्गा संरक्षण समितिको बैठकको निर्णय अनुसार वैशाख २४ गते सूचना जारी गरेर अतिक्रमण हटाउन समयसीमा तोकेको हो ।
सूचनामा गाउँपालिकाभित्र रहेका सार्वजनिक जग्गा, नदी खोलाको बहाब क्षेत्रको जग्गा, सरकारी जग्गा तथा ऐलानी÷पर्ती जग्गामा अनुमतिबिना निर्माण गरिएका संरचनाहरु ३५ दिनभित्र हटाउन निर्देशन गरिएको छ । गाउँपालिकाभित्र रहेका सार्वजनिक जग्गामा केही व्यक्तिहरुले अतिक्रमण गरी भोगचलन गरेको भन्ने जनगुनासो समेतको आधारमा सयमसीमा तोकेर हटाउन भनिएको गाउँपालिका प्रमुख लक्ष्मण गुरुङले जानकारी दिए ।
‘पालिकाभित्र अतिक्रमण गरिएका सार्वजनिक जग्गा खाली गराउनु भनेर हामीले सूचना जारी गरेका छौं,’ गाउँपालिका प्रमुख गुरुङले भने, ‘तोकिएको समयभित्र उहाँहरू आफैले खाली गर्नुहुन्छ भन्ने विश्वास छ ।’
सूचनाको अवज्ञा गरी संरचना नहटाएमा प्रचलित कानुन बमोजिम हुने पालिकाको सूचनामा उल्लेख छ ।




