
गोरखामा २४ जनाले गरे आँखाको शल्यक्रिया
नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा २४ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । गोरखा नगरपालिकाका १० र आरुघाट गाउँपालिकाका १ तथा अन्य स्थानीय तहका १४ गरी २४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको गोरखा लायन्स आँखा सेवाकेन्द्रका प्रमुख प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिए ।
जसमध्ये ११ पुरुष र १३ महिलाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । हरेक महिना १९, २० र २१ गते नियमित रुपमा सञ्चालन हुने आँखा शिविर सञ्चालन हुने गर्छ । १९ गते ट्रेसिङ हुने, २० गते शल्यक्रिया हुने र २१ गते आँखाको पट्टी खोल्ने कार्यक्रम रहेको केन्द्रका प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ ।
गोरखा नगरपालिका तथा आरुघाट गाउँपालिकाका भित्रका आँखाको बिरामीको भने निःशुल्क शल्यक्रिया गरिने उनले बताए । ‘गोरखा नगरपालिका र आरुघाट गाउँपालिका भित्रका बिमारीको उपचार तथा शल्यक्रिया निःशुल्क हुन्छ’, उनले भने, ‘अन्य पालिकाहरुको भने शुल्क लिएर सशुल्क नै उपचार गर्ने गर्छौँ ।’
हिमालय आँखा अस्पतालबाट आएका आँखा रोग विशेषज्ञसहितको टोलीको सहयोगमा उनीहरुको आँखाको शल्यक्रिया गरेका हुन् । सेवाकेन्द्रले सदरमुकामसहित विभिन्न नगर तथा गाउँपालिका, विद्यालयहरुमा कार्यतालिका बनाएर आँखा शिविर सञ्चालन गर्दै आएको उनले बताए । सेतो पुतलीको कारण हुने शापु रोगको संक्रमणबाट बच्न सर्तकता अपनाउन अनुरोध गरिएको छ ।




