
अपाङ्गता भएकाहरुलाई बैशाखी र ह्वीलचेयर हस्तान्तरण
उत्तरी गोरखाको धार्चे गाउँपालिकाले विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरु सहयोगी सामग्री प्रदान गरेको छ ।
पालिकाको सामाजिक बिकास शाखाले सोमबार एक कार्यक्रम आयोजना गरेर बैशाखी, ह्वीलचेयर लगायतका सहयोगी सामग्री हस्तान्तरण गरेको हो ।
गाउँपालिका भित्रका २८ जना विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सामग्री प्रदान गरेको पालिकाको सामाजिक विकास शाखाकी निरु विश्वकर्माले बताइन् । गाउँपालिकाले आवश्यकता अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर, बैसाखी, चस्मा, श्रवण यन्त्र तथा सेतो छडी लगायतका सामग्रीहरू वितरण गरेको उनले जानकारी दिइन् ।
विश्वकर्माका अनुसार गाउँपालिकाले तीन लाख रुपैँया बजेट बिनियोजन गरेर उक्त कार्यक्रम संचालन गरेको हो । गाउँपालिकाले क, ख, ग र घ वर्गअन्तरगत अपाङ्गता भएका व्यक्तिहरूलाई उक्त सामाग्री हस्तान्तरण गरेको पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताएका छन् । उनीहरुको दैनिक जीवनयापनमा सहजता ल्याउने तथा समाजमा समावेशी भावनाको अभिवृद्धि गर्ने उद्देश्यले सामाग्री वितरण गरेको गुरुङको भनाई छ ।
पालिकाले गत वर्ष ग र घ वर्गको अपाङ्गता भएका व्यक्तिहरुका लागि मुढा बुन्ने तालिम संचालन गरेको थियो । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ, पालिकाको कर्मचारीहरु, जनप्रतिनिधि एवं स्थानियहरुको उपस्थिति रहेको थियो ।




