
राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमले लोक्पाको पहिरो रोकथाम
सहर बजारतिर दुरुपयोग भयो भन्दै बद्नाम भएको हाल राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम (तत्कालीन प्रधानमन्त्री रोजगार कार्यक्रम) गाउँघरमा भने पहिरो रोकथाम गरेर लोकप्रिय बनेको छ । चुमनुब्री गाउँपालिका वडा नं. ६ लोक्पाको पहिरो नियन्त्रण गरेर सो कार्यक्रमले प्रसंसा कमाएको छ । २१ घरधुरी जोखिममा पारेको र दुईवटा वडाका बासिन्दाको बाटो अवरुद्ध गरेको लोक्पाको पहिरो नियन्त्रण गर्न सो कार्यक्रम कार्यान्वयन गरिएको वडा सचिव वासुदेव ओलीले जानकारी दिए ।
‘रोजगार कार्यक्रमको बजेटले अघिल्लो बर्ष पनि यही पहिरो रोकथामको काम गरियो, अहिलेको साल पनि पहिरो नियन्त्रणमा नै खर्च गरेका छौँ’, वडा सचिव ओलीले भने, ‘यो शीर्षकको बजेट उपयोग गर्न बेरोजगार युवाहरुको नाम सूचीकरणमा पर्नुपर्दछ । अनि कति काम गरेका छन्, त्यसको आधारमा पारिश्रमिक दिने गरिन्छ । गाउँघरको काम पनि हुने, बेरोजगार युवाहरुले रोजगार पनि पाउने भएकाले यो कार्यक्रम धेरै काम लाग्ने रहेछ ।’
गत आर्थिक बर्ष सो पहिरो नियन्त्रणका लागि सो कार्यक्रमअन्तर्गत १५ लाख खर्च भएको रोजगार संयोजक लक्ष्मण गुरुङले जानकारी दिए । ‘एकजनाले एकसय दिनसम्म काम गर्न पाउँछन्’, गुरुङले भने, ‘गतबर्ष त्यहाँको पहिरो नियन्त्रण गर्न १५ लाख जति खर्च गरियो । त्यो रकम गाउँलेले नै काम गरेर पाए ।’
लोक्पा पहिरो नियन्त्रण गर्न गाउँपालिकाको बजेटबाट ग्याविन तार खरिद गरिएको र रोजगार कार्यक्रमले गाउँलेले जाली भर्ने तथा पहिरो रोकथामको काम गरेको उनले बताए । अहिले कामको प्राविधिक अनुगमन कार्य सम्पन्न भइसकेको तर कति खर्च हुने अन्तिम प्रतिवेदन नआइसकेको गुरुङको भनाइ छ ।
चालु आर्थिक बर्ष वडा नं. ५ बिहीमा गोरेटो बाटो निर्माण गर्न, वडा नं. ६ मा पहिरो नियन्त्रण गर्न, वडा नं. ७ को लारमा छ्योर्तेन बनाउन, खर्च गरिएको रोजगार संयोजक गुरुङले बताए । ‘जुन वडामा अल्लि धेरै बेरोजगारीको समस्या छ कार्यपालिका बैठकले त्यही वडामा अल्लि बढि बजेटको कार्यक्रम गर्छ’, उनले भने ।
चारबर्ष अघि असोजमा लोक्पामा गएको पहिरोले स्थानीय २१ घर जोखिममा परेका थिए । त्यस्तै वडा नं. ६ र ७ का स्थानीय बासिन्दा आवतजावत गर्ने तथा चुम उपत्यका आवतजावत गर्ने पर्यटक प्रभावित भएका थिए ।




