
छेवेटारमा खरबुजा खेतीको परीक्षण सफल
गोरखा नगरपालिका–१० छेवेटारमा पहिलो पटक गरिएको खरबुजा खेती सफल भएको छ । परीक्षणको रुपमा बगरमा गरिएको खेती सफल भएपछि स्थानीय खुशी छन् । गोरखा नगरपालिकाको सहयोगमा स्थानीय मुलुकी कृषि सहकारी संस्थाले सरस्वती जातको खरबुजा खेती गरेको हो । वगरको करिव ६ रोपनी जग्गामा चार हजार विरुवा लगाइएको छ । अहिले विक्री वितरण समेत हुन थालेको संस्थाकी अध्यक्ष पुष्पा कुमालले बताइन् ।
‘खरबुजा खेती गर्ने भनेर हामीले नगरपालिकासँग समन्वय ग¥यौ,’ उनले भनिन्, ‘नगरपालिकाले सहयोग गर्छु भनेपछि हामी अघि बढेका हौं ।’ छेवेटारस्थित दरौदी नदी बगरको काँस घारी पन्छाएर खेती थालिएको उनले जानकारी दिइन् । उनका अनुसार वडा कार्यालयसँग समन्वय गरेर जग्गा प्राप्त गरिएको हो । काँस घारीले ढाकिएको जग्गा अहिले खरबुजाले भरिएको छ । महिलाहरु मात्र आवद्ध उक्त संस्थाले समूहमा काम बाँडफाँड गरी खरबुजा खेतीमा अग्रसरता देखाएको हो ।
‘बगरभरी पुरै काँस थियो, त्यसलाई पन्छायौ, ड्याङ बनायौ अनि मलजल गरेर खरबुजा रोप्यौ,’ कुमालले भनिन् । पाँच हजार विरुवा जमाएपनि चार हजार मात्र रोपिएको उनले बताइन् । यसअघि सो क्षेत्रमा कसैले पनि खरबुजा खेती गरेका थिएनन् । पहिलो पटककै प्रयासमा राम्रो उत्पादन हुन थालेपछि उनीहरु दंग छन् । सोचेभन्दा धेरै फलेको भन्दै सो क्षेत्रमा खरबुजा खेती राम्रो हुने स्थानीयले बताएका छन् ।
खेती गर्नु अघि नगरपालिकाले उनीहरुलाई तालिम समेत उपलब्ध गराएको थियो । गत पुस महिनामा तालिम लिएर उनीहरुले माघमा बिउ जमाए । फागुनमा रोपे । बैशाखमा उत्पादन सुरु भएर विक्री वितरण हुन थाल्यो । छोटो समयमै उत्पादन हुने भएपछि खरबुजा खेतीतर्फ स्थानीयहरु थप आकर्षित हुन थालेका छन् ।
अहिले उत्पादन भएको खरबुजा स्थानीय स्तरमै बिक्री हुने गरेको कुमाल बताउँछिन् । मिठो स्वाँद भएकाले पनि स्थानीयको रोजाईमा पर्ने गरेको उनले सुनाइन् । ‘एक त आफ्नै ठाउँमा फलेको कस्तो हुदो रहेछ भन्ने भयो, अर्काे स्वाँद मिठो भएकाले पनि धेरैले खोज्नुहुन्छ,’ उनले भनिन् । प्रति केजी ६० रुपैँयामा धमाधम बिक्री भइरहेको उनले बताइन् ।
खरबुजा खेती सफल भएपछि अन्य स्थानीयहरु पनि खेती गर्ने सोचमा छन् । समूहले पनि अन्य जग्गामा खेती विस्तार गर्ने योजना बनाएको छ । ‘सफल हुन्छ भन्ने थाहा भयो, अव हामी पनि अन्य जग्गा खोजेर खेतीलाई बिस्तार गर्छाै,’ संस्थाकी अध्यक्ष कुमालले बताइन् । वडामा खरबुजा खेतीका लागि प्रोत्साहन गरिने वडाध्यक्ष प्रदिप कुँवरले बताए ।




