
विना अनुमति सडक मिचेर एक्स्ट्रिमको होर्डिङ बोर्ड, सवारी आवागमन प्रभावित
विकास मरहट्टा ।
सवारी आवागमन नै प्रभावित हुने गरी विना अनुमति एक्स्ट्रिम इनर्जी डिं«क्सले गोरखा सदरमुकामको मुख्य सडक मिचेर होर्डिङ बोर्ड राखेको छ । आफ्नो बिज्ञापन गर्दै मनपरी ढंगले हरमटारी र बैंकरोडमा प्रवेश गेट जस्तो बनाएर होर्डिङ बोर्ड राखेपछि चौतर्फी आलोचना भएको छ ।

सम्बन्धित स्थानीय तहसँग अनुमति लिएर तोकिएको शुल्क तिरेपछि मात्र निश्चित ठाउँमा होर्डिङ बोर्ड राख्न पाउने प्रावधान छ । तर एक्स्ट्रिमले न नगरपालिकाको अनुमति लिएको छ न प्रशासनलाई नै जानकारी गराएको छ । गोरखा नगरपालिकाले आफूहरुसँग कुनै अनुमति नलिएको जनाएको छ । मेयर कृष्ण रानाले पनि अनुमति नदिएको प्रष्ट पारे ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले विना अनुमति राखिएको होर्डिङ बोर्ड नगरपालिकाले हटाउनुपर्ने बताए । ‘अनुमति दिने निकाय नगरपालिको हो, अनुमति छैन भने हटाउनुप¥यो,’ उनले भने । यता वडा नम्वर ६ का अध्यक्ष राजेन्द्रकुमार जोशीले पनि सडकमा राखिएको होर्डिङ बोर्डको बिरोध गरे । वडाबाट समेत अनुमति प्राप्त नभएको उनले जानकारी दिए ।

रोट महोत्सवको वहाना बनाउँदै राखिएको उक्त होर्डिङ बोर्डले सवारी आवागमन प्रभावित मात्र होइन बजारको सौन्दर्यतामा समेत असर पारेको छ । मनपरी राखिएको होर्डिङ बोर्ड हटाउन सरोकारवालाहरुले माग समेत गरेका छन् ।




