| शुक्रबार, बैशाख १७, २०८३

२३ औँ सवालाख रोट महोत्सव आजबाट सुरु

गोरखामा शुक्रबार(आज)देखि रोट महोत्सव सुरु हुदैछ । गोरखनाथ प्रकट दिवसको अवसर पारेर वैशाख पूर्णिमादेखि सञ्चालन हुने सवालाख रोट महोत्सव ११ दिनसम्म चल्नेछ । सिद्धाश्रम शक्ति केन्द्रले आयोजना गरेको यसबर्षको रोट महोत्सव २३ औँ श्रृङ्खला हो ।

रोट महोत्सवको पहिलो दिन शुक्रबार बिहान सदरमुकामस्थित सिद्धाश्रम शक्तिकेन्द्रदेखि गोरखनाथ गुफासम्म रथयात्रा आयोजना हुनेछ । रथयात्रामा घडासहितका १०८ कन्या, नाथयोगीहरु, गोरखनाथका भक्तजन तथा स्थानीय नगरबासीहरुको सहभागिता रहने छ । महोत्सव बैशाख २८ गतेसम्म चल्ने छ । सो अवधिभर गुरु गोरखनाथको बिशेष पूजासहित एकलाख २५ हजार रोट गोरखनाथलाई चढाउने गरिन्छ ।

साथै देवी देवताको पूजा, बिशेष हवन, साधना, भजनकीर्तन लगायतका गतिविधि हुने सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । गुरु गोरखनाथ प्रकट भएको दिनको अवसरमा हरेकवर्ष सिद्धाश्रम शक्ति केन्द्रले रोट महोत्सव गर्दै आएको छ । गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने प्रसादका रुपमा रोटलाई लिइन्छ । रोट चढाएर गोरखनाथलाई खुशी बनाउन सकेमा कुनै भक्तजन तथा मुलुकमा पनि संकट टर्ने धार्मिक मान्यता छ ।

राजा पृथ्वीनारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनमा उनको मनपर्ने रोटलाई हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले महोत्सवको आयोजना गरी चढाउँदै आएको छ । गहुँ, जौ पिठोमा जाईफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल, किसमिस जस्ता विभिन्न ५२ प्रकारका शक्तिबद्र्धक मसला मिसाइन्छ । नाथहरु शुद्ध भई पिठोमा किसमिस मिसाएर रोटलाई स–सना गोली बनाउँदै घ्यूमा पोल्ने गर्छन् ।

रोट महोत्सवमा आउने भक्तजनलाई सिद्धाश्रम शक्ति केन्द्रले खान बस्न निःशुल्क व्यवस्था समेत गरेको छ । रोट महोत्सवले जिल्लाको धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पु¥याउने केन्द्रको भनाइ छ । विश्वकल्याण, विश्वशान्ति, आध्यात्मिक तथा नैतिक समाज निर्माण गर्न, गोरक्ष निखिल शक्ति जागरण गर्न, गुरु गोरखनाथलाई खुशी बनाउन प्रत्येक वर्ष सवालाख रोट महोत्सव गर्दै आएको छ । महोत्सवमा नेपालको विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरु आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्