| बिहिबार, बैशाख १६, २०८३

सहकारीको सुरक्षागार्डमाथि आक्रमण गरेर फरार भएका दुईजना पक्राउ

आरुघाट गाउँपालिका–१० मंगलटारस्थित सप्तकोशी बचत तथा ऋण सहकारी संस्था चोरी गर्ने उद्देश्यले सुरक्षागार्डमाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४२ बर्षका अम्बिर ढकाल (हाल चितवन बस्ने) र वाग्लुङ घर भई हाल नवलपरासी बस्दै आएका ३९ बर्षीय पदमबहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु यही बैशाख ६ गते राती भण्डारी ताला फुटाएर सहकारी भवनभित्र प्रवेश गरेका थिए । चोरी गर्ने उद्देश्यसहित गएका उनले सुरक्षागार्ड छविलाल ढकाललाई फलामको रेन्चीले टाउको लगायत शरीरका बिभिन्न संवेदनशील भागमा हिर्काएर गम्भीर घाइते बनाई फरार भए ।

‘पैसा खोज्दा नभेटेपछि सुरक्षागार्ड सुतिरहेको कोठाभित्र पसेर फलामे रेन्चीले हिर्काउन थालेछन्,’ प्रहरी निरीक्षक सरोज कार्कीले भने, ‘सुरक्षागार्डले साइरनको बटम थिच्न भ्याएछन्, साइरन बजेपछि आक्रमणकारीहरु त्यहाँबाट भागेछन् ।’ घटना लगतै फरार रहेका उनीहरुलाई बैशाख १३ गते पक्राउ गरिएको कार्कीले बताए ।

ढकाललाई चितवन र भण्डारीलाई नवलपरासीबाट पक्राउ गरिएको उनले जानकारी दिए । सम्बन्धित जिल्लाका प्रहरी कार्यालयको समन्वयमा उनीहरुलाई पक्राउ गरिएको उनको भनाइ छ । उनीहरु बिरुद्ध ज्यान मार्ने उद्योग र चोरी उद्योग शीर्षकमा मुद्दा दर्ता भइ आवश्यक अनुसन्धान भइरहेको छ । घाइते ढकाल मनमोहन मेमोरियल मेडिकल कलेज काठमाडौमा उपचाररत छन् ।

सिसिटिभी फुटेजको सहाराले पत्ता लाग्यो दोषी
घटना पश्चात फरार रहेका उनीहरुलाई सहजै पहिचान गर्न सक्ने अवस्था थिएन । सहकारीको सिसिटिभी फुटेजमा भण्डारी एक्लै रेनकोट र मास्क लगाएर भवन भित्र प्रवेश गरेको देखिन्छ । रेनकोट, मास्क, रेन्ची लगायतका सामान किनेको पसलको खोजी गर्न प्रहरीले सुरु ग¥यो ।

इलाका प्रहरी कार्यालय आरुघाटका इन्चार्ज प्रहरी निरीक्षक अनिल श्रेष्ठको कमाण्डमा टोलि परिचालन भयो । अन्ततः आरुघाटको एउटा पसलबाट भण्डारीले फलामको रेन्ची किनेको पत्ता लाग्यो । सिसिटिभी फुटेजमा देखिएको व्यक्ति अम्बिर ढकालको घरमा आइराख्छ भन्ने स्थानीयले पत्ता लगाए र प्रहरीलाई जानकारी दिए ।

सोही सूचनाको आधारमा प्रहरीले ढकालको खोजी सुरु ग¥यो । चितवनबाट उनलाई पक्राउ गर्न सफल भयो । ‘घटनाबारे सोध्दा पहिले स्वीकार गरेन,’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘पछि केरकार गर्दै गएपछि स्वीकार ग¥यो अनि उसको माध्यमबाट भण्डारीलाई पनि पक्राउ गर्न सफल भयौ ।’ घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्