
काङग्रेस गोरखाका उपसभापति बस्नेतलाई पार्टीले माग्यो स्पष्टिकरण
नेपाली काङग्रेस जिल्ला कार्यसमिति गोरखाले पार्टीको जिल्ला सपसभापति समेत रहेका इमानसिंह बस्नेतलाई स्पष्टिकरण माग गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘पार्टीप्रति मोह भंग भएको’ भन्ने अभिव्यक्ति दिएको भन्दै काङ्ग्रेस जिल्ला अनुशासन समितिले बस्नेतसँग स्पष्टिकरण माग गरेको हो ।
जिल्ला अनुशासन समिति गोरखाका संयोजक किशोजजंग थापाले हस्ताक्षर गरेको उक्त पत्रमा पार्टीसँग सम्बन्धित विषयवस्तुहरु आन्तरिक रुपमा सम्बन्धित निकाय वा समितिमार्फत प्रस्तुत गर्नुपर्नेमा सार्वजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्नु संगठनात्मक मर्यादा र जिम्मेवारीविपरीत देखिएको उल्लेख छ ।
‘अतः तपाईले उक्त पोष्ट किन गर्नुभएको हो, तपाईँलाई किन कारबाही नगर्ने र तपाईले दिनुभएको उक्त अभिव्यक्ति किन, के उद्देश्यले र कुन परीस्थितिमा सार्वजनिक गर्नुभएको हो भन्ने विषयमा स्पष्ट आधारसहित लिखित स्पष्टिकरण पेश गर्नुहोला’, पत्रमा भनिएको छ ।
तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टिकरण प्राप्त नभएमा वा प्रस्तुत स्पष्टिकरण सन्तोषजनक नभएमा नेपाली काङ्ग्रेस विधान र नियमावली बमोजिक आवश्यक अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाइने काङ्ग्रेस गोरखाले जनाएको छ ।




