| बिहिबार, बैशाख ९, २०८३

गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्तावप्रति गोरखाका पालिकाहरु असन्तुष्ट

जिल्लाको अजिरकोट, बारपाक सुलिकोट र धार्चे गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव बारे पालिकाहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उक्त विषयमा आफूहरुलाई जानकारी नै नभएको पालिकाहरुले जनाएका छन् ।

‘स्थानीय तह सम्बन्धी प्रस्ताव त स्थानीय जनता, स्थानीय पालिका, प्रदेश हुँदै संघमा जाने हो,’ धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘संघबाट स्थानीय तहमा आउने होइन ।’ धार्चे, बारपाक सुलिकोट र अजिरकोटलाई एउटै पालिका बनाउने प्रस्ताव अव्यवहारिक र असम्भव रहेको उनले बताए ।

‘हाम्रो गाउँसभा छ, गाउँकार्यपालिका छ । कुनै पनि स्थानीय तहसँग सम्बन्धित विषय उक्त पालिकाको रायमन्जुरी बिना कसरी निर्णय गर्नसक्छ ?’ उनले प्रश्न गरे । गाउँपालिकालाई नगरपालिका बनाउन विधिवत रुपमा अघि बढ्नुपर्ने तर तीन वटा पालिकालाई गाभ्ने विषय भने सम्भव नहुने बताए ।

अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देवकोटाले तीन गाउँपालिकालाई नगरपालिका बनाउने विषय सामाजिक सञ्जालबाट थाहा पाएको बताए । ‘हामीलाई गाउँपालिकाबाट नगरपालिका बनाउने हो भने हामीसँग सल्लाहसुझाव लिनुपथ्र्यो, समन्वय गर्नुपथ्र्यो’, उनले भने, ‘तीनवटा गाउँपालिकालाई गाभेर एउटा नगरपालिका बनाउने विषय त झनै अव्यवहारिक छ ।’

धार्चेको हुल्चुक, काशीगाउँ र केरौँजालाई अजिरकोटसँग जोड्ने विषय सम्भव नहुने भन्दै उनले यस्तो भएमा दुवै तिरका जनताले दुख पाउने बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव पेश गर्दा भूगोल, विषेशता र मनोविज्ञ पनि अध्ययन गर्न जरुरी रहेको उनको भनाइ छ । मन्त्रालयले परिपत्र गरेको भरमा यस विषयको हल नहुने उनको भनाई छ ।
बारपक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले यस विषयमा जानकारी नभएको भन्दै प्रतिक्रिया दिन चाहेनन् ।

केही दिन अघिमात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संख्या र सीमा हेरफेर सम्बन्धी मापदण्डको मस्यौदा सार्वजनिक गरेको थियो । मन्त्रालयले सबै प्रदेश सरकारहरूलाई तीन दिनभित्र मापदण्डमाथि सुझाव पेश गर्न परिपत्र गरेको थियो । मन्त्रालयमा पेश भएको प्रस्तावहरू समेत अध्ययन गरेर नेपाल नगरपालिका संघले दुई महिनाअघि अर्को छुट्टै प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको थियो ।

प्रतिवेदनमा केही उपमहानगरपालिकालाई महानगर बनाउनुपर्ने, केहीलाई उपमहानगर बनाउनुपर्ने र कैंयौ गाँउपालिकाहरूलाई नगरपालिका बनाउनुपर्ने उल्लेख छ । सोही प्रतिवेदनअन्तरगत गोरखाका तीन वटा गाउँपालिका (अजिरकोट, बारपाक सुलिकोट र धार्चे) लाई नगरपालिका बनाउने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्