| मङ्लबार, बैशाख ७, २०८३

छेकम्पारको वुद्ध आधारभूत विद्यालय चुमगुम्बामा स्थानान्तर

शिव उप्रेती ।
गाउँका बालबालिकालाई गाउँकै विद्यालयमा टिकाइराख्न छेकम्पारको वुद्ध आधारभूत विद्यालयलाई चुम गुब्बामा स्थानान्तर गरिएको छ । चुमनुब्री गाउँपालिका ७ छेकम्पार लारस्थित वुद्ध आधारभूत विद्यालय लामागाउँको चुमगुम्बामा सारिएको हो ।

विद्यालयका लागि गुम्बाले निर्माण गरेको कक्षाकोठा भवन, छात्रबास भवन, भान्साघर, शौचालय लगायतका भौतिक संरचना सोमबार गाउँपालिकाका अध्यक्ष निमा लामाले उद्घाटन गरेका थिए । भौतिक संरचना उद्घाटन गर्दै अध्यक्ष लामाले हिमाली गाउँबस्तीका बालबालिकाको शैक्षिक भविष्य निर्माणमा चुमगुम्बाको योगदानको प्रसंसा गरे । साथै छेकम्पार, चुम्चेत तथा अन्य दुर्गम भेगका बालबालिकाहरुलाई समेत समेटेर पठनपाठन गर्न पाउने वातावरण बनाउन र उनीहरुको शैक्षिक भविष्य निर्माणमा सघाउन अनुरोध गरे ।

चुम गुम्बाले केही बर्षदेखि करुणा विद्यालय सञ्चालन गरिरहेको थियो । हाल अमेरिकाको जोसेफ फर डिग्निटी नामक संस्थाको सहयोगमा वुद्ध आधारभूत विद्यालयलाई सोही गुम्बामा संरचना तयार गरी पठनपाठनको वातावरण बनाएको हो । दुबै विद्यालका गरी उहाँ ४२ जना बालबालिका आवासीय सुविधासहित पढ्ने गुम्बाका प्रमुख लामा पासाङफुञ्जो लामाले जानकारी दिए । उनीहरुलाई निशुल्क खाना, बस्न, शैक्षिक सामग्री, विद्यालय पोशाकलगायत निशुल्क सेवासुविधासहित पठनपाठनको ब्यबस्था गरिएको प्रमुख लामाले जानकारी दिए ।

निशुल्क आवासीय सुविधा तथा निशुल्क रुपमा शैक्षिक सामग्रीहरु पाएपछि अभिभावकहरुले आफ्ना छोराछोरी गाउँकै विद्यालयमा पढाउने वुद्ध माविका प्रधानाध्यापक छिरिङफुञ्जो लामाले लामाले विश्वास व्यक्त गरे । यहाँ करुणा विद्यालयका ४ जना र वुद्ध माविका चार शिक्षकहरु कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्