
चोरकाटेका कुमाल समुदायमा पुनर्जागरण, सेरामिक्सतिर आकर्षित हुँदै
शिव उप्रेती ।
सिरानचोक गाउँपालिका ४ चोरकाटे कुमाल बाहुल्यता भएको गाउँ हो । यहाँ करिब ३८० घरधुरी कुमाल समुदायको बसोबास छ । दरौंदी नदीको किनार आसपास बसोबास गर्ने उनीहरुको ३० बर्षअघिसम्म माटोका गाग्रा, हाँडी, भुँड्का, हुक्का, चिलिम, हण्डा, गमला बनाएर बेच्ने मुख्य पेशा थियो । त्यसकै आम्दानीले परिबार पाल्थे । कोही माछा बेचेर पनि गुजारा चलाउथे । ठुल्ठुला टार र फाँट भएकाले कतिपय कुमाल समुदाय खेती किसानीमा तल्लीन पनि हुन्थे ।
एउटा समय आयो, उनीहरुलाई भाँडा बनाएर जीविका चलाउने पुख्र्यौली पेशा देखेर घृणा जाग्यो । ‘कुमाललाई राज्यले पहिचान पनि गर्दैनथ्यो । कुमालको नागरिकता देखाएर जागिर पनि पाइँदैनथ्यो’, स्थानीय भेषबहादुर कुमाल भन्छन्, ‘माटे भनेर हेप्थे । त्यसैले कसैले थर पनि फेर्न थाले । धेरैलेचाहिँ पेशा बदले । वैदेशिक रोजगारी खुल्न थालेपछि कोही विदेश हानिए, कोही खेतबारीकै काममा रमाउन थाले । माटोको काम सबैले त्यागे । नयाँ पुस्ताले त पुख्यौली पेशा देख्दा पनि देखेन ।’
सो समुदायमा अहिले फेरि पुनर्जागरण आयो । उनीहरु आफ्नो जाति, भाषा, संस्कार, संस्कृतिप्रति गर्व गर्न थाले । ‘माटोको काम त हाम्रो पहिचान हो । यसलाई हामीले बिर्सनु हुन्न’, अर्का स्थानीय चन्द्रबहादुर कुमाल भन्छन्, ‘अब हामीले म कुमाल हुँ भन्दा गर्व गर्नुपर्छ । माटोको भाँडा बनाउने हाम्रो पुख्र्यौली पेशामा फर्कनु पर्छ ।’ अहिले प्लास्टिकका भाँडाले माटो प्रदुषण, वायु प्रदुषण, पानी प्रदुषण गरेकाले माटोको भाँडाप्रति सबैको रुचि जागेको कुमाल समुदायको बुझाइ छ ।
त्यसैले उनीहरु अहिले फेरि माटोको भाँडा बनाएर जीविका चलाउने पुख्र्यौली पेशातर्फ फर्कने सामुहिक पहल सुरु गरेका छन् । ‘अहिले समय बदलिएको छ । बुझ्ने मान्छेहरु बजारका तयारी खाना भन्दा गाउँघरको अर्गानिक खाना रुचाउँछन् । बजारका सो केसमा सजाएका प्लास्टिकका भाँडा भन्दा काठका, माटोका भाँडा रोज्न थालेका छन्’, अर्का स्थानीय ज्ञानबहादुर कुमाल भन्छन्, ‘त्यसैले हामीले गाउँमा पटक पटक भेला, छलफल ग¥यौं र अब माटोकै भाँडा बनाउने निधो ग¥यौँ । बरु पुरानो तौर तरिकामा अलिकति सुधार गरेर सेरामिक्स बनाउने निर्णय ग¥यौँ ।’ आफूहरुको पहलमा स्थानीय सरकारले पनि सघाएको उनको भनाइ छ ।
अहिले उनीहरुले चोरकाटो सेरामिक्स समूह गठन गरेका छन् । सो समूहले गाउँको सामुदायिक भवनमा सेरामिक्सका भाँडाहरु बनाउन थालेको छ । ‘समूह दर्ता गरेर हामीले गाउँपालिकामा पनि सहयोग माग ग¥यौँ’, स्थानीय इन्दिरा कुमाल भन्छिन्, ‘गाउँपालिकाले गण्डकी प्रदेश सरकारसंग अनुरोध गरेर मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम ल्याएर हामीलाई सहयोग गरेको छ ।’ सो कार्यक्रम अन्तर्गत भक्तपुरका दक्ष कालिगढ ल्याई यहाँका कुमाल समुदायलाई सेरामिक्स प्रविधिको भाँडाकुँडा बनाउन सिकाइएको छ ।
यहाँका २६ जना कुमाल समुदायलाई विभिन्न १४ प्रकारका सेरामिक्सका भाँडाकुँडा बनाउने तालिम दिइएको छ । ‘पाला, सुप बल, सिलिण्डर, प्लेट, कप, स्ट्रे, भास, सुराई, कफी मग, राउण्ड टी पट, स्ट्रेट टी पट, पानी जग, डिनर प्लेट, क्वाटर प्लेट, गमला बनाउन सिकेका छौँ’, स्थानीय पुनम कुमालले भनिन्, ‘कतिपयचाहिँ परम्परागत ढाँचाको भाँडाकुँडा पनि बनाएका छौं, अनि नयाँ चलनचल्तीमा आएको खालको सेरामिक्सका भाँडाकुँडा पनि बनाएका छौँ ।’ गाउँपालिकाले माटोका भाँडा बनाउने विभिन्न खालका उपकरणहरु पनि उपलब्ध गराएको उनले बताइन् ।
आप्mनो पहिचानसंग जोडिएको पेशा भएकाले यसलाई निरन्तरता दिने स्थानीय टोपबहादुर कुमाल बताउँछन् । अहिले बनाएका भाँडाहरु गाउँ आसपास र गोरखा बजारमा बिक्री भइरहेका छन् । ‘एक दुईवटा मेला महोत्सवमा प्रदर्शन गरेपछि माग पूरा गर्न पनि धौधौ भएको छ’, उनी भन्छन्, ‘उत्पादन त हामी गर्छौँ तर टुटफुट हुने भएकाले बजारसम्म पु¥याउन कठिनाइ हुने रहेछ ।’
विभिन्न कारणले पछाडि परेका कुमाल समुदायको माग सम्बोधन गर्दै उनीहरुको पुख्र्यौली पेशालाई प्रवद्र्धन गर्न सँधै तत्पर रहेको गाउँपालिकाका प्रमुख ज्ञानेन्द्र गुरुङले बताए । गाउँलेहरुले माग गरेअनुसार सम्भव भएसम्म साथ दिने उनको भनाइ छ ।




