
पत्रकार महासंघद्धारा एआईको प्रयोग सम्बन्धी ९ बुँदे प्रतिवद्धता पत्र जारी
नेपाल पत्रकार महासंघ गोरखाले एआई (कृतिम बुद्धिमता) को प्रयोग सम्बन्धी नौ बुँदे प्रतिवद्धता पत्र जारी गरेको छ ।
महासंघको आयोजना तथा प्रेस रजिष्टार कार्यालय गण्डकी प्रदेश र अजिरकोट गाउँपालिकाको सहकार्यमा संचालन भएको ‘पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग र क्षमता अभिवृद्धि’ तालिममा उक्त प्रतिवद्धता पत्र जारी गरिएको हो ।
महासंघले पत्रकारितामा एआई को सही सदुपयोग गर्दै यसको प्रयोगलाई प्रोत्साहन गर्ने र दुरुपयोगलाई निरुत्साहित गर्ने प्रतिवद्धता गरेको छ । यस्तै एआईको सहयोगमा उत्पादन गरिने समाचार सामग्रीहरुको सम्प्रेषण र प्रशारण गर्नुअघि पत्रकारद्धारा अनिवार्य सम्पादन गर्नुपर्ने व्यवस्थालाई लागू गराउन पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
एआईद्धारा सिर्जना गरिएको हरेक सामग्रीहरुमा स्रोत उल्लेख गरिने र त्यस्ता सामाग्रीहरुको गलत प्रभाव परेमा सम्बन्धित संचार माध्यम वा पत्रकार स्वयम जवाफदेहि हुनु पर्ने प्रतिज्ञा गरिएको छ । यसैगरि मानव रोजगारी, सृजनशिलता, सत्यता र जवाफदेहितामा असर नपर्ने गरि पत्रकारिता क्षेत्रमा नयाँ–नयाँ प्रविधिको भरपूर प्रयोग गर्दै एआई प्रयोगमा सक्षम बनाउन तालिम तथा प्रशिक्षणलाई निरन्तरता दिने बताइएको छ ।
एआईको प्रयोगबाट भ्रम छरिने वा गलत सन्देश जाने, वर्गिय पक्षपात र अपमान गर्ने सामग्री उत्पादन, प्रकाशन तथा प्रशारण नगर्नेे भनिएको छ । एआईको प्रयोग बहुआयामिक भएकाले यसको दुरुपयोग न्यूनिकरण गर्न र सदुपयोग बढाउन संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा सरोकारवाला सबैले एआईको ज्ञान, शिक्षा र सिप फैलाउने कार्यक्रमहरु तत्काल ल्याउन ध्यानाकर्षण गराउने महासंघले जनाएको छ ।
साथै एआईको दुरुपयोग रोक्न गोरखा शाखाले पहल थाल्ने जनाएको छ । शुक्रवार र शनिवार संचालन भएको तालिममा एआई र पत्रकारितामा यसको प्रयोगबारे प्रशिक्षण दिइएको थियो । तालिम अवधिभर जीवन भण्डारीले सहजिकरण गरेका थिए ।
महासंघ गोरखा शाखाका अध्यक्ष नरेन्द्र ढकालको अध्यक्षता तथा प्रेस रजिष्टार बिमला भण्डारीको प्रमुख अतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम भएको थियो ।
कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष किशोरजंग थापा, उपाध्यक्ष बिकास मरहट्टा लगायतले मन्तव्य राखेका थिए । समापन कार्यक्रममा भने गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलको प्रमुख अतिथ्यता रहेको थियो ।




