| शुक्रबार, बैशाख ३, २०८३

गोरखामा उद्योग तथा व्यापार दर्ता खारेज गर्नेको संख्या बढ्दै

गोरखामा उद्योग तथा व्यापार गर्न छाड्नेहरुको संख्या बर्सेनि बढिरहेको छ । बिगत तीन बर्ष यता जिल्लामा नयाँ उद्योग तथा व्यापारका फर्म दर्ता गर्नेभन्दा दर्ता भइसकेकाको फर्म खारेज गर्नेको संख्या बढेको हो ।

युवा पलायन तथा काम गर्ने दक्ष जनशक्तिको अभावका कारण सञ्चालनमा रहेका उद्योग तथा व्यापारहरु छाड्नेको संख्या बढ्दै गएको एकीकृत सेवा कार्यालय गोरखाले जनाएको छ । ‘केही बर्ष यताको तथ्यांक केलाउँदा नयाँ उद्योग थपिने भन्दा भएका उद्योग तथा व्यापार पनि दर्ता खारेज गर्न आउनेको संख्या धेरै देखियो’, कार्यालय प्रमुख दशरथ शर्मा भन्छन्, ‘युवाहरु विदेशमा छन् । रेखदेख गर्ने मान्छे छैनन् भन्दै दर्ता खारेज गर्न आउनेको संख्या उल्लेख्य छ ।’

विदेशबाट पठाएको रेमिट्यान्समा निर्भर हुने प्रवृत्ति बढेकाले आफ्नै ठाउँमा स्वरोजगार गर्ने वा रोजगारी सिर्जना गर्ने रुचि कम भएको उनको भनाइ छ । कार्यालयमा रहेको अभिलेख अनुसार दुईबर्षअघि गोरखाका १९८ जना उद्योगीले आफ्ना औद्योगिक फर्मको दर्ता खारेज गरेका थिए भने २०७ जनाले व्यापारिक फर्मको दर्ता खारेजी गरेका थिए ।

त्यस्तै गत आर्थिक बर्ष १९० जनाले औद्योगिक फर्मको दर्ता खारेजी गरेका थिए । १३३ जनाले व्यापारिक फर्मको दर्ता खारेज गरेका थिए । त्यस्तै चालु आर्थिक बर्षको साउनदेखि चैत मसान्तसम्म ९० जनाले औद्योगिक फर्मको दर्ता खारेजी र ८१ जनाले व्यापारिक फर्मको दर्ता खारेजी गरेका थिए ।

प्राय कृषि तथा पशुसेवा कार्यालयहरुले सञ्चालन गरेका अनुदानका कार्यक्रमहरुबाट लाभ लिन उद्योग दर्ता गर्ने र त्यसको प्रयोजन सकिएपछि खारेजी गर्ने प्रवृत्तिका कारण पनि खारेजीको संख्या उल्लेख्य बढेको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्