| मङ्लबार, बैशाख ७, २०८३

प्रथम सिरानचोक लालीगुराँस मेला सम्पन्न

प्रथम सिरानचोक लालीगुराँस मेला विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । गाउँपालिकाको ऐतिहासिक धार्मिक र पर्यटकीय क्षेत्र श्रीनाथमण्डली तथा सिरानचोककोट क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले श्रीनाथमण्डली तथा कोट विकास समितिको आयोजनामा चैत्र १६ गतेबाट सुरु मेला मंगलबार सम्पन्न भएको हो ।

मेलाको अवसरमा गाउँपालिकाको कार्यालय चित्रेपोखरीदेखि सिरानचोककोटस्थिल टुडिँखेलसम्म १० किलोमिटर लामो दुरीमा मिनी म्याराथुन दौड प्रतियोगितामा सम्पन्न गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ठाकुर अर्यालले जनाकारी दिए । दौडमा कपिलबस्तुका अजय पाण्डे क्षेत्रीले निर्धारित दुरी ३७.१३ मिनेटमा पार गर्दै प्रथम बने ।

तनहुँ आबुँखैरेनीका सनम गुरुङ्गले ३७.२९ मिनेटमा निर्धारित दुरी पूरा गरी दोस्रो बनेको प्रशासकीय अधिकृत अर्यालले बताए । त्यस्तै पालुङटार–३ गोरखाका सरोज गिरीले ४०.११ मिनेटमा दौड पूरा गरी तेस्रो बनेका छन् । उनीहरुलाई क्रमश २० हजार, १५ हजार र तृतीय १० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । दौडमा स्थानीय तथा राष्ट्रिय स्तरका २५ जना धावकहरुको सहभागिता रहेको थियो । सोही अवसरमा अन्तराष्ट्रिय म्याराथुन धावक टीकाबहादुर बोगटीलाई सम्मान समेत गरिएको थियो ।

मेलाकै अवसरमा स्थानीय र रैथाने कृषि उपजहरुको बिक्री तथा प्रदर्शनी समेत गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्यालले जनाकारी दिए । चैत्र २६ गतेबाट ३० गतेसम्म गाउँपालिका प्राङ्गण चित्रेपोखरी र नयाँ वर्षको दिन बैशाख १ गते श्रीनाथमण्डली परिसरमा उक्त प्रदर्शनी गरिएको उनले बताए । सो प्रदर्शनीमा ८ वटै वडाका कृषकहरुले आफ्ना उत्पादनहरु प्रदर्शनी र विक्रीवितरण राखेका थिए । प्रदर्शनीमा सहभागी हुने १७ जना कृषक र उद्यमीहरुलाई सम्मान समेत गरिएको उनले बताए ।

कार्यक्रमको अवसरमा सिरानचोक क्षेत्रको लालीगुराँस लगायत अन्य प्राकृतिक सम्पदा र लालीगुराँस पदयात्राको प्रवद्र्धनका लागि विभिन्न ५ ठाउँबाट श्रीनाथमण्डली क्षेत्रमा पुग्ने गरि पदयात्राको रुट निर्धारण गरिएको प्रमुख प्रशासकिय अधिकृत अर्यालले जनाकारी दिए । उनका अनुसार ती रुटहरुमा सयौँ पदयात्रीहरुले लालीगुँरासको अवलोकन गर्दै पदयात्रा सम्पन्न गरको थिए ।

मेलामा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, लालीगुराँस फोटो/भिडियो प्रतियोगिता पनि सम्पन्न गरिएको अर्यालले बताए । साथै नयाँ वर्ष वैशाख १ गतेको दिन श्रीनाथमण्डली क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदानसँगै मेला सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्