
२०८२ मा १० किलोमिटर कालोपत्रे सडक थप
२०८२ सालभित्र गोरखाको कूल कालोपत्रेमा १० किलोमिटर सडक थप भएको छ । गोरखा सडक योजना कार्यालय, पूर्वाधार कार्यालय र सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले २०८२ सालभित्र जिल्लामा १० किलोमिटर कालोपत्रे सडक थप गरेका हुन् ।
गोरखा सडक योजना कार्यालयले गोरखा बजारभित्र करिब आठसय मिटर सडक कालोपत्रे गरेको जनाएको छ । त्यस्तै सोही कार्यालयले झिँगटे, अश्राङ, बोर्लाङ सडकको १५ सयमिटर सडक कालोपत्रे गरेको जनाएको छ । त्यस्तै बुटार–मकैसिङ सडकमा पनि आठसय मिटर कालोपत्रे गरेको छ । रामशाहघाट–मनकामना सडकमा पनि करिब २५ सय मिटर सडक कालोपत्रे गरेको कार्यालयका इञ्जिनियर कल्याण खड्काले जानकारी दिए ।
त्यस्तै गण्डकी प्रदेश माताहतको पूर्वाधार कार्यालयले पालुङ्टारको राधाकृष्णमन्दिर, कालामाटा, पौवाटार, विरुवाटार, मिलनचोक, मझुवा सडक २७ सयमिटर कालोपत्रे गरेको जनाएको छ । जिल्लामा गत पुसमा स्थापना भएको सघन सहरी तथा भवन निर्माण आयोजनाले पनि दुई किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ ।
केही बर्षअघिसम्म आँबुखैरेनी–गोरखा बजार सडक मात्र कालोपत्रे भएको गोरखामा अहिले ठूला करिडोर जोड्ने सडकहरु प्राय कालोपत्रे भइसकेका छन् । गोरखा बारपाक, गोरखा आरुघाट, गोरखा भच्चेक, गोरखा घैरुङ, गोरखा ताकुकोट, गोरखा पालुङटार सडकहरु कालोपत्रे भइसकेका हुन् ।




