| मङ्लबार, बैशाख २८, २०८३

गोरखामा मापसेसँगै अब लापसे परीक्षण

जिल्लामा मापसे (मादक पदार्थ सेवन) सँगै लापसे (लागूपदार्थ सेवन) परीक्षण पनि सुरु भएको छ । सार्वजनिक यातायातका चालक र सहचालकलाई लक्षित गरी सोमवार ट्राफिक प्रहरीले लापसे परीक्षण गरेको हो ।

प्रदेश अस्पताल गोरखा र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा भएको परीक्षणमा दुई जनाले लागूपदार्थ सेवन गरेको भेटिएको जिल्ला ट्राफिक इन्चार्ज सुरज अर्यालले बताए । ‘कुल ३३ जनामा परीक्षण गरेका थियौ,’ उनले भने, ‘त्यसमध्ये एक जना चालक र सहचालकले लागूपदार्थ सेवन गरेको भेटियो ।’ सवारीसहित उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

सडक सुरक्षा अभिवृद्धिका लागि लापसे परीक्षण थालिएको कार्यालयले जनाएको छ । ‘लापसे गरेर सवारी चलाउछन् भन्ने गुनासो थियो, त्यसलाई मध्यनजर गर्दै आजबाट परीक्षण थालेका हौ,’ अर्यालले भने । उनका अनुसार दुर्घटना जोखिम न्यूनिकरणसँगै आम नागरिकको सुरक्षाका लागि यो अभियान थालिएको हो । अवका दिनमा परीक्षणले निरन्तरता पाउने बताउँदै उनले थपे, ‘जिल्लाका बिभिन्न ठाउँमा जुनसुकै बेला छड्के चेकजाँच गरेर लापसे परीक्षण हुन सक्छ ।’

गोरखा–आँवुखैरेनी सडकखण्डको बाह्र किलो नजिकै सोमवार भएको परीक्षणमा चालक र सहचालकहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्