| आइतवार, जेष्ठ १६, २०८३

गोरखामा सामुदायिक स्वयंसेवा सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

गोरखामा सामुदायिक स्वयंसेवा सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघले घोषणा गरेको अन्तर्राष्ट्रिय स्वयंसेवा वर्ष २०२६ र गुड डीड्स डे को अवसर पारेर आइतबार राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नाफान) को संयोजन तथा गैरसरकारी संस्था महासंघ गोरखा, एकिकरण नेपाल लगायत २० भन्दा धेरै सामाजिक संघसंस्थाको आयोजनामा सम्मेलन सम्पन्न भएको हो ।

गोरखा सदरमुकाम आयोजना भएको उक्त सम्मेलनमा स्थानीय र राष्ट्रियस्तरका संघ संस्थामा आबद्ध गण्डकी प्रदेश, वाग्मती, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका गरी करिब दुईसय जना स्वयंसेवक, प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रममा स्वयंसेवाका अभ्यास, अवसर, चुनौती र नीतिगत पक्षहरूमा गहन प्यानल छलफल र अन्तक्रिया गरी भविष्यका लागि प्राथमिकताहरू निर्धारण गरिएको कार्यक्रमका अध्यक्ष हरि देवकोटाले जानकारी दिए ।

सम्मेलनमा विशेषगरी दुईवटा महत्वपूर्ण सत्रहरूमा प्यानल छलफल केन्द्रीत थियो । पहिलो सत्रमा पत्रकार मोहसिन अलि मियाँको सहजिकरणमा नेपालमा स्वयंसेवकको अवस्था, अवसर र चुनौतीु विषयमा छलफल भएको थियो । जसमा ग्लोबल पिस फाउन्डेसनका नेपाल निर्देशक रामरोहन पन्त, द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख एकदेव अधिकारी, विपद् पत्रकारिता सञ्जालका अध्यक्ष अमिका राजथला, महिला स्वास्थ्य स्वयम सेविका इन्दिरा बस्नेत, लियो डिष्ट्रिक्ट परिषद ३२५ जे का अध्यक्ष बालकृष्ण परियार र साझेदारी वन उपभोक्ता समुह महासंघका बरिष्ठ उपाध्यक्ष विकल्प भट्टराईले प्यानल छलफलका स्रोत व्यक्तिका रुपमा आफ्ना धारणा राखेका थिए ।

त्यसैगरी, दोस्रो सत्रमा अधिकारकर्मी कर्णबहादुर नेपालीको सहजकर्तामा स्वयंसेवा प्रवर्धनमा स्थानीय सरकार विषयमा छलफल भएको थियो । उक्त सत्रमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, जीतपुर सिमरा उपमहानगरपालिकाका उप–प्रमुख भोलाप्रसाद अधिकारी, भीमसेनथापा गाउँपालिकाकी उपाध्यक्ष अमृता वस्ती र चाँगुनारायण नगरपालिकाका अधिकृत सुरेन्द्र लामिछाने वक्ता रहेका थिए । उनीहरुले सरकारी स्तरबाट स्वयंसेवालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा बहस गरेका थिए ।

सम्मेलनको समापनमा ७ बुँदे गोरखा घोषणा–पत्र जारी गरिएको छ । यस घोषणा–पत्रमार्फत नेपाली समाजमा परापूर्वकालदेखि चल्दै आएको स्वयंसेवाको मूल्यमान्यतालाई थप सुदृढ बनाउन तीनै तहका सरकारलाई अनुरोध गरिएको कार्यक्रम संयोजक भोला भट्टराईले बताए । साथै, सरकारले स्वयंसेवाको पहिचान, वर्गीकरण र विकासका लागि आवश्यक नीतिगत, कानूनी र संस्थागत व्यवस्था गर्नुपर्ने माग गरिएको छ । शिक्षा प्रणालीमा पनि स्वयंसेवालाई जोड्न विद्यालय तथा उच्च शिक्षाको पाठ्यक्रममा आवश्यक प्रावधान राख्नुपर्नेमा घोषणापत्रले जोड दिएको छ ।

युवा, महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र अल्पसंख्यक समुदायको सहभागिता सुनिश्चित गर्दै शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा सामुदायिक स्वयंसेवालाई अभियानकै रूपमा विस्तार गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ । साथै नेपालका मौलिक स्वयंसेवा अभ्यासहरूको खोज, अनुसन्धान र अभिलेखीकरण गरी यसलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने लक्ष्य राखिएको छ ।

सम्मेलनको उद्घाटन सत्रमा सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा, चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा लगायतले सम्बोधन गरेका थिए । सम्मेलनमा पाँच प्रदेशबाट नागरिक समाजका प्रतिनिधी, जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो । यो सम्मेलन नेपालमा पहिलो पटक आयोजना गरिएको र आगामी बर्षहरुमा समेत नेपालमै आयोजना गर्न पहल गरिने आयोजक संस्थाहरुले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्